सिईडिबी हाइड्रोपावर डेभलपमेन्टको साधारणसभाबाट लाभांश र हकप्रद सेयर पारित
काठमाडौं । सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको बार्षिक साधारणसभा आज अर्थात सोमबार कालिमाटी ब्याङक्वेट, कालिमाटी काठमाडौंमा सम्पन्न भएको छ । सभाले ११ प्रतिशत बोनस सेयर (कर बाहेक) र बोनस सेयर जारी गरे पश्चात हुने चुक्त पुँजीको ५४.५ प्रतिशत (१ः०.५४) हकप्रद सेर जारी गर्ने र सो सम्बन्धमा आवश्यक कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रत्यायोजना गर्ने पारित गरेको छ ।
त्यसै गरी सभाबाट संचालक समितिको आर्थिक वर्ष २०७९ /८० र आर्थिक वर्ष २०८०/ ८१ को बार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी अनुमोदन गर्ने, आर्थिक वर्ष २०८०/८१ को लागि नियुक्त लेखा परिक्षक र निजको पारिश्रमिक अनुमोदन गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने र स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन प्रस्ताव पारित गरेको छ ।
त्यसै गरी सभाबाट कम्पनीको नाम परिवर्तन सहित प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र नियमक निकायहरुको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्ने आवश्यक भएमा सो गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । सभामा सेयर बजार चर्चित लगानीकर्ताहरु डमरु बल्लभ घिमिरे, अनुपमा गुप्ता,लक्ष्मण श्रेष्ठ, इन्द्रकृष्ण श्रेष्ठ लगायतका सेयरधनीले बोलेका थिए । सभामा बोल्ने सवै लगानीकर्ताले लाभांश र हकप्रद सेयरको स्वागत गर्दै संचालक र व्यवस्थापनलाई धन्यवाद दिएका थिए ।
Shares