आठ अर्बले घट्यो ग्यास आयात
बजारमा खाना पकाउने एलपी ग्यासको खपत घटेको छ । ग्यासको आयात घटेसँगै खपतमा कमी भएको हो । विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेकामा गत आर्थिक वर्षमा पाँच प्रतिशतले खपत घटेको हो ।
पछिल्लो समय विद्युतीय चुलो (इन्डक्सन) को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपतमा कमी आएको देखिन्छ । बिजुली र अन्य स्रोतभन्दा सस्तो पर्ने हुँदा ग्यासको खपत बढी हुने गरेको छ । नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७९÷८० मा ५३ अर्ब रुपियाँ बराबरको पाँच लाख १२ हजार मेट्रिक टन ग्यास आयात भएको छ ।
आव २०७८÷७९ मा ६१ अर्ब रुपियाँ बराबरको पाँच लाख ३६ हजार ६९८ मेट्रिक टन ग्यास आयात भएको थियो । अघिल्लो वर्षको तुुलनामा आठ अर्ब रुपियाँ बराबरको ग्यास आयात कम भएको छ ।
ग्यास बिक्रेता महासङ्घका पूर्वअध्यक्ष ज्ञानेश्वर अर्यालले व्यावसायिक प्रयोगमा ग्यासको खपतमा गिरावट भएको जानकारी दिए । आर्थिक सङ्कटका कारण होटल, रेस्टुरेन्टको व्यापारमा कमी हुनु, विद्युत्को आपूर्ति नियमित हुनु, बढ्दो महँगीले गर्दा सर्वसाधारणले खर्च कटौती गर्दा खपत कम हुन गएको उनको भनाइ छ ।
मुलुकमा देखिएको आर्थिक सङ्कटका कारण ठुला रेस्टुरेन्टमा कारोबार घटेकाले ग्यासको खपतमा कमी आएको उनको भनाइ छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
Shares