सडक योजनाका पक्षमा फैसला : ठेकेदार कम्पनीको रिट खारेज
उदयपुर । उदयपुरको गाईघाट स्थित गाईघाट दिक्तेल सडक योजनाका विरुद्ध ठेकेदार कम्पनिले उच्च अदालत पाटनमा दिएको रिट उपर फैसला गर्दै उच्च अदालत पाटनले गाइृघाट दिक्तेल सडक योजनाका पक्षमा फैसला सुनाएको छ ।
ठेकेदार कम्पनि देवनारायण पवन मैनाचुली खाम्पाचे जे भीले उदयपुरको गाईघाटदेखि खोटाङको दिक्तेल जोड्ने सगरमाथा लोकमार्गको फोक्सिङटारदेखि सिम्पानीसम्मको २७ किलोमिटर खण्डमा कालोपत्रे गर्न ठेक्का लिएकोमा काम समयमा नगरेको, चरम लापर्वाही र ढिला सुस्तीका कारण सडक योजनाले २०७९ पुष ८ गते ठेक्का तोड्ने निर्णय गरेपछि उच्च अदालत पाटनमा ठेकेदार कम्पनिले २०७९ पुष १९ गते मुद्दा हालेकोमा उच्च अदालतको २०८० असोज १० गतेको फैसलाले उक्त रिट खारेज गर्ने फैसला गरेको थियो ।
गाईघाट दिक्तेल सडक योजनाका योजना प्रमुख सिडिई गोपालप्रसाद खकुरेलका अनुसार ठेकेदार कम्पनिले रिट हालेपछि २०७९ माघ ४ गते अदालतले अन्तरिम आदेश जारी गरी ठेक्का रद्ध गर्ने निर्णय कार्यान्वयन नगर्नु भन्ने आदेश जारी गरेको थियो । तर असोज १० गतेको फैसलाले ठेकेदार कम्पनिले दिएको रिट नै खारेज भएकोेले सडक योजनालाई नयाँ ठेक्का खुलाउने बाटो प्रशस्त भएको छ ।
उच्च अदालत पाटनले छेकेदार कम्पनिले दिएको रिट खारेज गर्ने फैसला सँगै प्रक्रिया पुरा गरी पुनः अर्को ठेक्का खुलाउने बाटो खुलेकोले अब काम गर्न सहज हुने र ठेक्का खुलाउने प्रक्रियामा अघि बढने तयारी भैरहेको योजना प्रमुख खकुरेलले बताए ।
ठेकेदार कम्पनिले पुनः अर्को ठेक्का खुलाउँदा कालोपत्रे गर्ने खर्च निर्माण व्यवसायीले नै व्यहोर्नुु पर्ने भएकोले खर्च बढी हुने डरले रिट हालेको हो । अन्तरिम आदेश भएपछि ठेकेदार कम्पनिले निर्माण स्थलमा कालोपत्रे गर्न प्राइमकोड करीब अढाई किलोमिटर राखेको थियो । तर कालोपत्रे गर्ने काम नभएको योजना प्रमुखले बताए ।
खोटाङ जिल्लाका राजनीतिक दलका नेता कार्यकताहरुले पनि उक्त सडक छिटो सम्पन्न गर्न पटक पटक नै ठेकेदार कम्पनिलाई दवाव दिएका थिए ।
उक्त ठेक्का २०७३ साल साउन ११ गते सम्झौता भएको र २०७७ साल साउन महिनाभित्रमा उदयपुरको फोक्सिङटारदेखि खोटाङको सिम्पानीसम्म कालो पत्रे गरिसक्नु पर्ने समय रहेको थियो । सगरमाथा लोकमार्गको नामले परिचित गाईघाट दिक्तेल सडक योजना को सडक गाईघाटदेखि दिक्तेलसम्म १ सय १ किलोमिटर रहेको छ ।
यसैगरी सगरमाथा लोकमार्ग अन्तर्गतको गाईघाट दिक्तेल सडक योजनाले गत शुक्रबार मात्र थप दुई ठेकेदार कम्पनिसँग भएको सम्झौता रद्ध गरेको छ ।
सडक योजना श्रोतले दिएको जानकारी अनुसार ठेकका सम्झौता गरेर काम नगर्ने दुई ठेकेदार कम्पनि भारत कन्सट्रकसन सिद्धिसाई जेभी र द कञ्चनजंघा गोलडेनगुड जेभीको ठेक्का सम्झौता रद्ध गरिएको छ ।
ऋसोज १४ गतेदेखि १५ दिन भित्रमा ठेक्का सम्झौता रद्ध नगर्नुपर्ने कारण पेश गर्न ठेकेदार कम्पनिलाई पत्र काटिएको छ । निर्माण सम्पन्न गर्ने म्याद सकिए पनि काममा चासो नराखेकोले ठेक्का रद्ध गर्ने निर्णय गरिएको सडक योजना श्रोतले जनाएको छ । सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ अनुसार काम नगर्ने ठेकेदार कम्पनिको ठेक्का सम्झौता कानुन बमोजिम रद्ध गरिएको श्रोतको दावी छ ।
Shares