आज पोखरालाई ‘पर्यटन राजधानी’ घोषणा गरिदै

अर्थकागज
प्रकाशित: ०३ चैत २०८०
Image description

नेपालको करिब मध्यभागमा पर्ने पोखरालाई तीन तहकै सरकारले पर्यटकीय सहर मानेका छन् । विभिन्न तथ्याङ्कले नेपाल आउनेमध्ये करिब ४० प्रतिशत पर्यटक पोखरा आएको देखाउँछन् । धेरै आन्तरिक पर्यटककै रोजाइमा पनि यो सहर पर्छ । पोखराको थप प्रवर्द्धन गर्न र पर्यटनकै माध्यमबाट यो क्षेत्रको विकास गर्ने उद्देश्यले पोखरालाई औपचारिक रूपमा पर्यटनको राजधानी घोषणा घोषणा गरिँदै छ ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगको अग्रसरतामा चैत ४ गते आइतबार हुने समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने तय भएको छ । ०७८ कात्तिकमा गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि सङ्घीय सरकारलाई अनुरोध गरेको थियो । त्यसअघि नै पटक पटक पोखरा महानगरले पर्यटकीय राजधानी घोषणा गर्न सङ्घ सरकारलाई औपचारिक प्रस्ताव पठाएको थियो ।

पोखरा महानगरका प्रमुख धनराज आचार्य पर्यटकीय राजधानी घोषणापछि पोखरा, आसपासका पालिका र प्रदेश सरकारले त्यसलाई कार्यान्वयन गर्न नीतिगत र बजेटसमेत व्यवस्था गर्ने बताउछन् । “बारम्बार अनुरोध गर्दा पनि सङ्घ सरकारले घोषणा नगरेपछि हामीले गर्न लागेका हौँ । प्रदेश सरकार र हामी मिलेर यसलाई कार्यान्वयन गर्छौँ,” उनि भन्छन्, “आउँदा नीति, कार्यक्रम र बजेटमा पनि प्राथमिकतामा पर्छ ।” प्रधानमन्त्रीबाट घोषणा भएपछि यसलाई कार्यान्वयनका लागि सङ्घ सरकारको समेत यथोचित साथ मिल्ने उनको विश्वास छ ।

पर्यटकीय राजधानी घोषणापछि अल्पकालीन, माध्यमकालीन र दीर्घकालीन योजना बनाएर यसलाई कार्यान्वयन गर्न गण्डकी प्रदेश सरकारले गठन गरेको अध्ययन समितिले सुझाएको छ । प्रतिवेदनले घोषणापछि आवश्यकता र प्राथमिकताका आधारमा पूर्वाधार विकास र प्रवर्धनका कार्यक्रम गर्दै जानुपर्ने उल्लेख गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर