विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

अर्थकागज
प्रकाशित: ०१ भदौ २०८३
Image description

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विद्युतीय माध्यमबाट वस्तु तथा सेवाको कारोबार गर्ने सबै व्यवसायीलाई विभागमा अनिवार्य रूपमा सूचीकृत भएर मात्र व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ ।

विभागले सूचना जारी गर्दै विद्युतीय व्यापार ऐन, २०८१ र विद्युतीय व्यापार निर्देशिका, २०८२ कार्यान्वयनमा आइसकेकाले सोही कानुनी व्यवस्थाअनुसार विद्युतीय व्यापार सञ्चालन गर्न आग्रह गरेको हो ।

कम्प्युटर, मोबाइल वा यस्तै विद्युतीय उपकरणको प्रयोग गरी वेबसाइट, अनुप्रयोग, सफ्टवेयर, इन्टरनेट, आन्तरिक सञ्जाल तथा सामाजिक सञ्जालका बजारस्थललगायत माध्यमबाट वस्तु तथा सेवाको कारोबार गर्ने प्रणालीलाई विद्युतीय व्यापारका रूपमा ऐनले परिभाषित गरेको विभागले जनाएको छ ।

ऐनअनुसार विद्युतीय माध्यमबाट व्यापार व्यवसाय सञ्चालन गर्ने व्यवसायीले व्यवसाय सुरु गर्नुअघि अनिवार्य रूपमा विद्युतीय व्यापारिक प्रणाली स्थापना गर्नुपर्ने र विभागको पोर्टलमा सूचीकृत हुनुपर्ने व्यवस्था रहेको छ ।

विभागले पछिल्लो समय विभिन्न विद्युतीय माध्यम तथा डिजिटल भुक्तानी प्रणालीको प्रयोग गरी उपभोक्तालाई भ्रममा पार्ने, ठगी गर्ने तथा गुणस्तरहीन वस्तु तथा सेवा बिक्री गर्ने सम्बन्धी गुनासो बढिरहेको जनाएको छ ।

यस्ता गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विभागले विद्युतीय माध्यम वा प्रणालीमार्फत वस्तु तथा सेवाको कारोबार गर्ने सम्पूर्ण व्यवसायी तथा सम्बन्धित पक्षलाई तोकिएको प्रक्रिया पूरा गरी अनिवार्य रूपमा विभागमा सूचीकृत हुन आग्रह गरेको छ ।

विभागले प्रचलित कानुनको पूर्ण पालना गरेर मात्र विद्युतीय व्यापार सञ्चालन गर्नसमेत सचेत गराएको छ । विभागका अनुसार सूचना बेवास्ता गरी सूचीकृत नभएका वा गैरकानुनी विद्युतीय व्यापारिक प्रणालीमार्फत व्यवसाय सञ्चालन गरेको पाइएमा विद्युतीय व्यापार ऐन, २०८१ तथा अन्य प्रचलित कानुनबमोजिम कडा कानुनी कारबाही गरिनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर