आज दसैंको सातौं दिन, घर-घरमा फूलपाती भित्र्याईदै

अर्थकागज
प्रकाशित: ०३ कात्तिक २०८०
Image description

काठमाडौं । आज नवरात्रिको सातौं दिन अर्थात् फूलपाती, दसैंको खास दिन आजैबाट शुभारम्भ हुन्छ । फूलपातीको दिनदेखि सरकारी कार्यालयहरु सार्वजनिक विदा हुने भएकाले दसैंको टीका थाप्न आ–आफ्नो घर फर्किने क्रम आजैबाट बढेको छ । घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैं घरमा आज अपराह्न विधिपूर्वक फूलपाती भित्राईन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पुजाआजा गरिएको दसैं घर अथवा पुजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ । नौ दुर्गामध्येकी सातौं कालरात्रि देवीको विधिपूर्वक पुजा आराधना पनि गरिँदै छ । दुर्गा पक्षको सातौं दिन कालरात्रि देवीको विधिपूर्वक पुज आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरुपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयंकर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । प्राणीलाई नष्ट गर्ने भएकैले यी देवीलाई कालरात्रि भनिएको पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैं पर्व मनाउँछन् ।नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । राजधानी र राजधानीका बाहिरका शक्तिपीठ एवं देवी मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ । बडादसैंको सातौं दिन आज नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ विशेष समारोह आयोजना गर्दैछ ।  

प्रतिक्रियाहरू

सम्बन्धित खबर