हिमालयन लाइफको १८औं वार्षिक साधारणसभा सम्पन्न, लाभांशसहित सबै प्रस्ताव पारित
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८औं वार्षिक साधारणसभा आज काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष शुलभ अग्रवालको अध्यक्षतामा सम्पन्न सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कम्पनीको चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार रूपैयाँको ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरेको छ। त्यसै गरी सभाले आवको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याएको छ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने र गत आवमा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पनि सभाबाट पारित भएको कम्पनीले जानकारी दिएको छ।
सभामा एक दर्जन भन्दा धेरै सेयरधनीहरुले बोलेका थिए । बोल्ने अधिकांश सेयरधनीले यो आर्थिक वर्षमा लाभांश बढाउन माग गरेका थिए । सभालाई सम्बोधन गर्दै कम्पनीको सिईओ मनोज कुमार लाल कर्णले कम्पनी बलियो हुँदै गएकोले भोलीका दिनमा सेयरधनीलाई अझ राम्रो प्रतिफल दिदै जाने बताएका छन् ।
Shares