हिमालयन लाइफका अध्यक्ष बजाजले गरे बिमित र सेयरधनीको पैसामाथि खेलबाड !
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्समा कर्मचारी विनियमावली र संगठन संरचनामा भएको व्यवस्थाभन्दा बाहिर गएर दुई जना डेपुटी प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) राखिएको भन्दै प्रश्न उठेको छ।
कम्पनीको कर्मचारी विनियमावली तथा संगठन चार्टमा प्रमुख कार्यकारी अधिकृत (सिइओ), डेपुटी प्रमुख कार्यकारी अधिकृत (डिसिइओ), जुनियर डिसिइओ र सहायक प्रमुख कार्यकारी अधिकृत (एसीइओ) को व्यवस्था रहेको बताइएको छ।
कर्मचारी विनियमावली सञ्चालक समितिबाट बनाएर बिमा प्राधिकरणबाट स्वीकृत गराई लागू गरिने व्यवस्था रहेको अवस्थामा त्यसभन्दा बाहिर गएर थप डिसिइओ नियुक्त गरिएको कम्पनीका कर्मचारीहरूकै दाबी छ ।
स्रोतका अनुसार हिमालयन लाइफमा यसअघि पनि एक जना डिसिइओको व्यवस्था रहेको अवस्थामा दुई जना डिसिइओ राखिएको छ। हाल कम्पनीको डिसीईओमा दिनेश बहादुर अमात्य र विभोर झा रहेका छन् ।
डिसिइओका रूपमा राखिएको विषयमा प्रश्न उठाउँदै यस्तो व्यवस्थाले कम्पनीको व्यवस्थापन खर्च थप बढाउने दाबी गरिएको छ।
विशेषगरी तीनवटा कम्पनी मर्ज भएपछि व्यवस्थापन लागत नियन्त्रण गर्नुपर्ने अवस्थामा थप उच्च तहको व्यवस्थापकीय पद सिर्जना गर्नुले कम्पनीमाथि अतिरिक्त खर्चको भार पर्ने स्रोतको भनाइ छ।
मर्जरपछि व्यवस्थापन लागतमा दबाब रहेका बेला थप खर्च बढाएर बिमितको पैसामाथि खेलबाड गरिएको हो।
यो कम्पनीमा अहिले एक जना डिसिइओको माथि अर्को सिनियर डिसिइओ ल्याउने तयारी समेत भइरहेको चर्चा रहेको बताएको छ। तर, कर्मचारी विनियमावली र संगठन चार्टमा त्यस्तो व्यवस्था नभएको अवस्थामा थप उच्च तहको पदमा नियुक्ति गर्नु उचित नहुने स्रोतको दाबी छ।
‘सिइओपछि डिसिइओ, जुनियर डिसिइओ र एसीइओको व्यवस्था छ। डिसिइओ दुई जना राख्नुपर्ने भए पनि संगठन चार्टमै त्यसअनुसारको व्यवस्था हुनुपर्ने हो,’ स्रोतको भनाइ छ, ‘बिमा प्राधिकरणबाट स्वीकृत कर्मचारी विनियमावलीभन्दा बाहिर गएर काम गर्नु प्रश्न उठ्ने विषय हो ।’
स्रोतले थप व्यवस्थापकीय खर्च बढाउँदै जाने हो भने त्यसको प्रत्यक्ष असर कम्पनीको वित्तीय व्यवस्थापनमा पर्न सक्ने बताएको छ।
बिमित र सेयरधनीको हितभन्दा अतिरिक्त व्यवस्थापन खर्च बढाउनेतर्फ कम्पनी गएको हो । यो सरासर बिमित र सेयरधनीको पैसामाथिको खेलबाड हो ।
यस विषयमा बिमा प्राधिकरण पनि मौन रहेको देखिन्छ । हिमालयन लाइफको अध्यक्ष नारायण बजाज हुन् । बजाज कम्पनीको संस्थापक सेयरधनी लक्ष्मी कर्पका तर्फबाट सञ्चालक समितिमा पुगेका हुन् । उनले नै बिमितको पैसा र लगानीमाथि खेलबाड गरेका हुन् ।
Shares