एपोलो हाइड्रोको आईपीओ बाँडफाँडको मिति तय

अर्थकागज
प्रकाशित: ०९ वैशाख २०८३
Image description

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँडको मिति तय भएको छ । कम्पनीले

गत चैत २६ गतेदेखि बैशाख २ गतेसम्म निष्काशन खुला गरेको आईपीओ शुक्रबार बिहान बाँडफाँट हुने भएको छ ।बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार उक्त दिन बिहान ९ बजे शेयर बाँडफाँड गर्ने तयारी गरिएको छ । आईपीओमा २८ लाख ७५ हजार ३७२ जनाको आवेदन परेको छ । ३ अर्ब २७ करोड ३२ लाख ९३ हजार रुपियाँ बराबरको ३ करोड २७ लाख ३२ हजार ९३० कित्ताका लागि आवेदन परेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपछि सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गरेको थियो ।कम्पनीले दोस्रो चरणमा ७ करोड ८० लाख २० हजार रुपियाँबराबरको प्रतिशेयर १०० रुपियाँ अंकित मूल्यका ७ लाख ८० हजार २०० कित्ता आईपीओ निष्काशन गरेको हो ।

उक्त शेयर ७८ हजार २० जनाले १०–१० कित्ताका दरले पाउने छन् ।कम्पनीले जारी पूँजी ५७ करोड रुपियाँको ३० प्रतिशत अर्थात १४ करोड १० लाख रुपियाँ बराबरको १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।जसमध्ये ४ लाख ७० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु र ९४ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

त्यस्तै, कम्पनीले सामूहिक लगानी कोषहरुका लागि ३७ हजार कित्ता र कम्पनीका कर्मचारीहरुका लागि १८ हजार ८०० कित्ता शेयर बाँडफाँट गरिसकेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर