अहिले बजारका लागि नकारात्मक शून्य र सकारात्मक कुराहरु धेरै छन: शिबचन्द्र
केही महिना अघि नेप्से परिसूचक २२०० हुँदा ताकाको कुरा हो, विगत १ दशक देखि प्राथमिक निष्काशनमा मात्र आवेदन दिने मेरा एक आफन्तलाई अब दोस्रो बजारमा पनि लगानी गर्न सुझाव दिएको थिएँ । त्यसपछि वहाँले "फलानोले मलाई सेयर किन्नु भनेर भनेको भन्यै छ , आफू त डुब्यो डुब्यो अब अरुलाई पनि डुबाउन उक्साउँदै छ" भनेर हल्ला गर्दै हिँड्नु भएछ। "किन्ने नै हो भने किन २२०० को टुप्पामा किन्ने ? १८०० मै किन्ने नी , आखिर नेप्से भनेको १८०० र २२०० कै बीच घुम्ने न हो।" भन्दै हिँड्नु हुन्थ्यो ।
केही दिन अघि वहाँ एका-बिहानै मेरो घर आउनु भयो र भन्नुभयो , "ल भतिज अब नेप्से पनि ३००० पुग्यो, अरुलाई मात्र हेर्ने हैन आफ्नो काकालाई पनि बनाईदिनु पर्यो । जग्गा बेचेर अलि अलि पैसा जुगाड भएको छ। छिट्टै फाईदा गर्न कुन किन्ने फ्याट्ट भन्दे त ?" अचम्म लाग्यो, "अनि काका छिट्टै फाईदा हुन त २२०० मुनि किनेको भए त अहिले राम्रै फाईदा हुन्थ्यो त , त्यतिबेला सल्लाह दिंदा आफू पनि डुब्यो अनि अरुलाई पनि फसाउन खोज्यो भन्दै हिँड्नु भएछ। भो अहिले आएर टुप्पोमा किन सुझाव माग्नु हुन्छ ?' भनेर उत्तर दिएको थिएँ ।
हिजो बिहान यही घटनाक्रमलाई सारांशमा पोष्ट गरेको थिएँ। साँझसम्म त यो कुराले सामाजिक सञ्जालमा आवद्ध देश तथा विदेशमा रहेका लगानीकर्तासम्म हल्ली खल्ली मच्चिएछ । साँझसम्म फोन र म्यासेजको मुग्लिङ नारायणघाट सडकखण्डमा बेला बेला आउने भन्दा ठूलै पहिरो नै आयो । पोष्टका अरु कुरालाई गौंण राखेर "शिव चन्द्रले ३००० लाई टुप्पा भन्यो" भन्ने कुरामा मात्र फोकस भएछ ।
हामीले भोगेका पछिल्लो बुल ३२०० पछि आजको दिनसम्म भोगेको र देखेको फेद र टुप्पा भनेकै १८०० र ३००० हो । भोलिको दिनमा बजारले ३५००, ४०००, ५००० को नयाँ नयाँ टाकुराहरु खडा गर्दै जाला त्यो भविष्यको कुरा होला तर अहिले हामीले देखेको र भोगेको इन्डेक्सको आधारमा तल्लो बिंदुमा सुझाव दिंदा नकिन्नेलाई माथिल्लो बिंदुमा खरिद गर्न किन उक्साउने भन्ने मात्र आशय थियो । वहाँले किनिसकेपछि भोलिको दिनमा यदि केही करेक्सन आयो भने "भतिजले डुबायो" भन्दै हल्ला पो गर्लान् की भन्ने पीर पनि त्यत्तिकै थियो !
कुरा रह्यो हामीले सामान्य मानिसले गरेको सामान्य पोष्टलाई आ-आफ्नै तरिकाले अर्थ लगाउँदै विचलित हुने की समग्र परिवेश र आफ्नो लगानीमा विश्वास गर्ने ?
पछिल्लो परिवेश जुन घाम झैं छर्लङ्ग छ :
• पुँजीबजार मैत्री सरकार र अर्थ मन्त्रीको आगमन ।
• मौद्रिक नीतिमा आएको लचकता ।
• ३ वर्ष देखि छाएको सुन्यता पश्चात भर्खर बजारले सकारात्मक लय समात्न सुरु गरेको अवस्था ।
• घट्दो बैंक ब्याजदर ।
• बैंक तथा वित्तीय संस्थाहरुले सेयर कर्जालाई दिएको प्राथमिकता।
• प्रधानमन्त्री तथा अर्थमन्त्री द्वारा प्राथमिकतामा सेयर बजार ।
अब आफै अनुमान गरौं बजारले आगामी दिन कस्तो लय समात्नेछ भनेर।
नकारात्मक शून्य अनि यति धेरै सकारात्मक पक्ष हुँदा हुँदै पनि कसैले सामाजिक सञ्जालमा लेखेको सामान्य विषयलाई लिएर त्यसलाई तोडमोड गर्दै कान नै नछामी दौडनु कत्तिको सान्दर्भिक हुन्छ ?
समय अभावका कारण हिजो बिहानको पोष्ट सारांशमा लेखेको थिएँ । अझ क्लियर हुन अहिले फुर्सदमा लेखिएको यो पोष्ट पढीसके पनि पुन: पछाडि गएर हिजोको पोष्ट पढ्नु हुन अनुरोध गरें ।
(नोट : यो पोष्ट पढिसकेपछि "यो त सेयर किनेपछि लेखेको पोष्ट" भनेर सोच्नु हुने मित्रहरूलाई जानकारी गराउन चाहन्छु कि , हिजोको पोस्ट र यो पोष्ट बीच २४ घण्टाको मात्र अन्तर छ । साथै हिजो शुक्रबार र आज शनिवार सेयर कारोबार हुँदैन ।)
शुभ प्रभात 💚🙏
थैन्कु 🙂https://www.facebook.com/share/p/JZCicuMaL7uum5D8/?mibextid=oFDknk
Shares