व्यङ्ग्य निबन्ध : कम्पनीको बार्षिक साधारणसभामा थरीथरी वक्ताहरू

अर्थकागज
प्रकाशित: ०२ कात्तिक २०८१
Image description

मुलुकमा अब विभिन्न कम्पनीका वार्षिक साधारण सभाको ओइरो चल्न थालेको छ। आर्थिक वर्ष सिवखुलित भएको छ महिनाभित्र साधारण सभा गर्नुपर्ने कानुनी व्यवस्था भएकाले असोजदेखि पुस मसान्तसम्म कम्पनीका साधारण सभा छ्यापछ्याप्ती भइरहन्छन् । केही कम्पनीहरुले त आपसमा सल्लाह गरेर पुष मसान्तकै दिन साधारण सभा गर्ने र चिया बिस्कुटमा हुने खर्च किफायत गरेर कम्पनीका लाउकेहरूको खल्ती भर्ने चेष्टा गर्छन् । एकैदिन साधारण सभा भएपछि बिचरा सेयरधनीहरू कहाँ कहाँ पुगुन् ?

कम्पनीका लागि साधारण सभा मुलुकको विधायिका जस्तै शक्तिशाली अङ्ग हो । यसै सभाले कम्पनीका सञ्चालकहरू छान्छ र सञ्चालक समितिले गरेका कामकारबाहीहरू अनुमोदन गर्छ । समितिका अध्यक्षले सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्छन् । सो प्रतिवेदनमा आयव्ययको विवरण कम्पनीका गतिविधिहरू लगायतका महत्वपूर्ण तथ्यहरू प्रस्तुत गरिएका हुन्छन् । प्रस्तुत गरिएको प्रतिवेदनउपर सभामा छलफलको सत्र सुरु हुन्छ र थरी थरी शेरधनीका गनगन र थनथन पनि सुरु हुन्छन् ।

छलफलमा भाग लिने वक्ताहरूमध्ये कोही काग भन्दा कोइली चङ्ख जस्ता हुन्छन् भने कोही सोझा गौप्राणी हुन्छन्। कम्पनीका हर्ताकर्ताकहाँ साधारण सभा अगावै पुगेर चरीलाई दुहेर दुध निकाल्न सक्ने चङ्ख वक्ताले सभा सफल पारिदिने ,र एजेन्डा पारित गराइदिने कुरामा आफ्नो अहम भूमिका हुने प्रस्ताव प्रस्तुत गर्छन् र १० /२० हात्ती गोद्ने प्रस्ताव पारित पनि गराउँदछन् भन्ने हल्ला पनि गाइँगुइँ सुनिन्छ। आफ्नो प्रस्ताव पारित भएन भने वक्ताले सभा बिथोलिदिने र एजेन्डा पारित हुन नदिने ल्याकत र ताकत आफूसित भएको धाक धम्की देखाएपछि कम्पनीका हर्ताकर्ता पनि लोप्रे कान लगाएर त्यस्ता वक्तालाई मन्साउन तत्पर हुन्छन् भन्ने गलफती पनि सभाको दिन हलमा खसखुस खसखुस सुन्न पाइन्छ ।

यस्ता प्रस्ताव प्रस्तुत गरिने र पारित हुने भेटघाटलाई प्रिएजीएम नाम जुराइएको छ रे भन्ने कुरा पनि त्यस्तै सभहलमा सुटुक्क सुन्न पाइन्छ । यस्ता सभाहरूमा रुचिका साथ भाग लिने भएकाले यस फतौरे लेखकले पनि सो कुरा सुनी जानेको हो तापनि देखि जानेको नहुनाले पक्कै हो भनेर दाबी गर्ने ताकत भने छैन । कागले कान लग्यो भन्दा कागपछि नदगुरी कान समाउनेतिर लाग्नुपर्छ भन्ने उक्ति सम्झने कि हावा नचली पात हल्लन्न भन्ने लोकोक्ति सम्झने भन्ने धरमरमा यो लठुवा बेचैन छ ।

जहाँसुकै हुने सभामा व पेसेवर वक्ताको रुपमा माइक अगाडि ठडिएको देख्दा श्रोताको मनमा खुल्दुली पनि पैदा हुन्छ नै । अझ आफू बोलेर अरुको भनाइ नसुनी ,आफूले उठाएका जिज्ञासाको जवाफ समेत नपर्खी टाप कस्ने वक्ताको प्रवृत्ति त झन् उदेकलाग्दो भान हुन्छ ।

 यस्ता धरमर र उदेकलाई बीचैमा छाडेर केरमेरलाई वक्ताका प्रकार कोरकार गर्नतिर सोझ्याउनु यहाँनेर बेस होला ।

१) खुसामदी वक्ता

अभिव्यक्तिमा चाकडीको जलप लगाउने वक्ताहरू खुसामदी वक्ताको पंक्तिमा पर्छन् । यिनीहरूले कालो बादल वरिपरि पनि चाँदीकै घेरा देख्छन्। कालोलाई सेतो नै भन्न परे पनि उनीहरू पछि पर्दैनन् ।

टाट पल्टन लागेको कम्पनी भए पनि कम्पनी उन्नयनको पथमै लम्किरहेको तथ्य प्रतिवेदनमा प्रस्तुत भएको छ भन्ने अपत्यारिलो दाबी यिनीहरूले सजिलै गर्छन्।

यस काँटका बेमिसाल उदाहरण हुन् मित्रधन सिकिस्त । यिनी मनोरोगले ग्रशीत छन् वा धनरोगले ग्रसित छन् भन्ने कुरा त यकिन गर्न सकिन्न तर उनको मनोयोग भने अतुलनीय नै छ भन्न सकिन्छ। लुकिङ टु लन्डन , टकिङ टु टोकियोको शैली वा भनौ हाउभाउमा उनले आफ्नो झुसिलो कथनी डकार्छन् र श्रोतालाई बेचैनीमा पछार्छन्। अरु कम्पनीले सयकडा २० रूपैयाँ प्रतिफल दिएको बेला उक्त कम्पनीले प्रति सय २० पैसा दिने प्रस्ताव पेश गरेको अवस्थामा पनि हात खाली गरिदिएन भनेर उनले अन्धाधुन्द कम्पनीको गुणगान गर्छन् । यदि प्रतिफल शून्य को अवस्था छ भने पनि कम्पनीप्रतिको बफादारी वा आशिकीले गर्दा ´यस साल आज खाली भएर के भो , आउने साल पक्कै हात खाली हुन्न भनेर ढुक्कै भन्न सकिन्छ , सूचकले ठ्याक्कै त्यही संकेत गर्छन् ` भन्ने उनको दाबी रहन्छ ।

एकदिन खसखस मेटाउनका लागि मैले उनलाई सोधेँ - ´दाइ , यो अतिशय तारिफदारी तपाईँको नानीदेखि को बानी हो कि बुढेसकालपछिको हो ? `

मेरो प्रश्न भुइँमा खस्न नपाउँदै छेवैका सज्जन प्वाक्क बोलिहाले - ´पहिले त उहाँ पनि तपाईँजस्तै आलोचक हो`… अहिले पो चोला फेरिएकोले आलोचना छोडेर आलुचनाको बाटो अख्तियार गर्नुभएको हो त कुरो बुझ्नुस् न । `

यो कथन सुनेर मित्रधन बिच्किँदै बोले - ´म त बि पोजिटिभ थिङ्क पोजिटिभ को गोरेटोमा चल्ने खासियत भएको मान्छे पो हुँ त । झासेझुसे फोहोर खोज्ने झिँगाजस्तो होइन । `

यति भनेपछि कुनै प्रतिक्रिया नसुनी नपर्खी मुन्टो बटार्दै उनी तिरोधाम भए ।

२) बकमफुसे वक्ता

ताइ न तुइका कुरा माइकमा टाँसिएर बक्ने वक्ता यस समूहमा पर्छन् । यस्ता वक्ता कोशी र कर्णालीमा एकैदिन सभा पर्‍यो भने पनि पखेटा हालेर उड्दै दुवै ठाउँ को सभ भ्याउँछन् । आफूलाई उम्दा विश्लेषक भएको जताउने यिनीहरू भिआइपीपी (भेरि इम्पोर्ट्यान्ट प्रोफेसनल पर्सन ) भन्न पनि रुचाउँछन् ।

यस खेमाका ज्वलन्त उदाहरण हुन् बोकेदारी किरमिरे । आफूय विख्यात स्वर्गीय मृतनाथ रेग्मीका लायकका चेला भएको दाबी गर्न उनी पछि हट्दैनन् । सभा आयोजन गर्ने कम्पनीको स्थापना नहुँदैदेखिको आफू वजनदार शेयरधनी भएको दाबी गर्न उनी पछि पर्दैनन्।

माइकअगाडि पुगेपछि किरमिरेको डमरुनाद सहितको विश्लेषण धाराप्रवाह रुपमा अगाडि बढ्छ । प्रतिवेदन अत्यन्त राम्रो छ , कभर राम्रो छ, अक्षर त झनै राम्रा छन् अलिकता मसिना भएकोले बुढा आँखालाई पढ्न गाह्रो पर्यो है। आगामी वर्ष पनि यस्तै मसिना अक्षरसहितको प्रतिवेदन आयो भने बाघको बच्चाले (भन्न त बुढो बाघ भान्नुपर्ने हो ) एजेन्डा पारित हुन दिँदैन ।भन्ने दाबी यी किरमिरेको हुन्छ । अनि उनी धेरै सेयरधनीका प्रतिनिधि वक्ता पात्र पनि हुन् रे । मलाई फलानो कुरा ढिस्कानो कुरा उठाइदिनुस् भनेर यहाँ उपस्थित सेयरधनीहरूले भन्नुभएको छ भन्ने दाबी उनले सजिलै गर्छन्। ती मुक सेयर धनी को हुन् जो आआफ्नो कुरा आफै राख्न हिम्मत गर्न सक्दैनन् भन्ने कुरा भने अनुसन्धेय नै छ ।

३) मेजर वक्ता

फौजबाट रिटायर्ड भएर मेजरबाट माइनर भएको २५ वर्ष बितिसक्दा पनि उनी आफूलाई मेजर भनाउन किन रुचाउँछन् त्यो ताज्जुबको कुरा छ । हामी जस्ता निजामती सेवाको उपसचिव पदबाट घोक्रेठ्याक पाएका झारपात त सभामा कति हुन्छन् कति अझ सहसचिव पदबाट खुस्केका पनि सभामा यदाकदा पुगेका हुन्छन् । तर कसैले आफ्नो पूर्वपथको झकास देखाउँदैनन् । तर यी यच्छपति सिकिस्त नामका व्यक्तिमा भने आफ्नो पूर्वपदको मोह रहिरहनु जाँचबुझ गर्नुपर्ने विषय बनेको छ ।

यिनी सायद मातृभाषा तुच्छ र म्लेच्छ भाषा उच्च हुन्छ भन्ने बुझ्छन् । त्यसैले प्रतिवेदन विश्लेषण गर्दा अनिवार्य तत्त्वको रूपमा अंग्रेजी लवज मिसाउनुपर्छ भन्ने कुरामा मेजर यक्षपतिले दमदार जोड दिन्छन् । माइक समाएर यिनी डुक्रन थाले भने श्रोताको सातोपुत्लो उड्ने हो कि भन्ने डर हुन्छ । सायद फौजमा सिपाहीहरूलाई कबाज खेलाउँदा खेरीको यिनको धङधङी अझै मेटिएको छैन। प्रतिवेदनमा घोत्लिरहँदा सिरमा ढाकाटोपी कहिल्यै नछुटाउने यिनको विशिष्ट शैली भने सराहनीय नै छ ।

४) आम वक्ता

सभामा सामान्य प्रश्न उठाउनेहरू आम वक्ताको सिमारेखाभित्र पर्छन् । अतिथि सत्कारमा यति धेरै खर्च कसरी भयो ? हामी अतिथि हुन कम्पनीमा जाँदा एक कप चिया पनि नसिब नहुने तर खर्च चाहिँ मच्चिएर भएको देखाउने ? मनोरञ्जन खर्च थुप्रै भएको देखिन्छ तर मनोरञ्जित पार्न हामीलाई किन बोलाइन्न भन्ने जस्ता जिज्ञासा आम वक्ताहरूका हुने गर्छन् । कहिलेकाहीँ त उनीहरुले सटिक सवाल पनि उठाउँछन्। जस्तो कि कम्पनीले साधारण सभा खर्च असाधारण लाग्ने गरी लाखौंको रकममा देखाएको छ । सभामा सेयरधनीले एक कप कालो चियाए र दुई पाप्रा बिस्कुट चपाउँदैमा दशौँ लाख खर्च कसरी हुन्छ ? करोडौँ रकम घाटामा रहेको कम्पनीका सिइओ साबले कुल कर्मचारी खर्चको आधा अंश तलब भत्तसको रूपमा कसरी हसुरेर डकारे ? भन्ने जस्ता विसंगतिपूर्ण पक्षहरू उचाल्नेहरू पनि यिनै आम वक्ता हुन् । तर यी बिचराहरूको आवाज काग कराउँदै गर्छ पिना सुक्दै गर्छ जस्तो गतिमा एक कानले सुनिने र अर्को कानले उडिने गर्छ। प्रमुख कार्यकारी अधिकृत साहबले भुँडी सुन्निउन्जेल हसुर्न छाड्दै छाड्दैनन् ।

५) स्वस्तिवाचक वक्ता

सभामा माइक अगाडि उभिएर हातसार गर्दै स्वस्तिवाचन गर्ने वक्ता यस वर्गमा पर्छन् उरन्ठ्यौला सेयरधनीहरूले यिनको उपनाम स्वस्तिबाजे भन्ने राखिदिएका छन् ।स्वस्ति बाजेले माइकसामु आफ्नो ठुँड पुर्‍याएपछि फलाक्न थाल्छन् - ॐ स्वस्तिन इन्द्रो वृद्धश्रवा................. ।

कम्पनीका वार्षिक साधारण सभामा ज्यादै परिपक्क रौँचिरा विश्लेषण गर्न सक्ने र बहुमूल्य सुझाव दिने वक्ता सेयर धनी भनी यदाकदा झुल्कने गर्दछन् । तर कम श्रोताहरु मात्र उनीहरूको अभिव्यक्तिको पारख गर्ने खालका हुने हुनाले र व्यवस्थापन पक्षले पनि गम्भीरता साथ रायसुझाव नलिईदिने हुनाले किन चाउरिस मरिच आफ्नै पिरोले भनेजस्तो दशा बेहोर्न उनीहरू विवस हुन्छन्।


प्रतिक्रियाहरू

सम्बन्धित खबर