अपि पावरको नाफामा १३०.०६ प्रतिशतको छलाङ: खुद नाफा ९६ करोड नाघ्यो, प्रतिसेयर आम्दानी दोब्बरले वृद्धि
काठमाडौं ।अपि पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक (असार मसान्तसम्मको) अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीले आफ्नो खुद नाफा र आम्दानीमा आक्रामक वृद्धि गर्दै लगानीकर्ताहरूलाई उत्साहित बनाएको छ।
खुद नाफामा १३०.०६ प्रतिशतको उछाल
यस अवधिसम्म आइपुग्दा कम्पनीले ९६ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो नाफा गत वर्षको सोही अवधिको तुलनामा निकै आकर्षक हो। गत वर्षको असार मसान्तसम्म कम्पनीले ४१ करोड ७५ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो। कम्पनीको विद्युत बिक्री तथा सञ्चालन आम्दानी पनि उत्साहजनक रुपमा बढेर १ अर्ब ७६ करोड ६५ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्ष १ अर्ब ६५ करोड रुपैयाँ रहेको थियो।
प्रतिसेयर आम्दानी (EPS) १५ रुपैयाँ माथि
नाफामा आएको यस उछालसँगै कम्पनीको वित्तीय सूचकहरू निकै मजबुत बनेका छन्। गत वर्ष ६.८७ रुपैयाँ मात्र रहेको वार्षिक प्रतिसेयर आम्दानी (EPS) बढेर १५.०६ रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ ११९.५१ रुपैयाँ पुगेको छ भने मूल्य आम्दानी अनुपात (P/E Ratio) २१.३० गुणा रहेको छ। नाफा बढ्नुको मुख्य कारण के हो?
कम्पनीको खुद नाफा यसरी बढ्नुमा सञ्चालन आम्दानीका साथै अन्य लगानीबाट भएको फाइदा (Fair Value Gain) को मुख्य भूमिका रहेको छ। कम्पनीले सेयर लगानीबाट मात्रै ४७ करोड ४१ लाख रुपैयाँ आम्दानी गरेको विवरणमा उल्लेख छ। कम्पनीले इङ्वा हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रोइलेक्ट्रिकको सेयरको बजार मूल्यका आधारमा यो मूल्यांकन गरेको जनाएको छ।
६ वटा आयोजना सञ्चालनमा, ८ मेगावाटको नयाँ आयोजना निर्माणाधीन
हाल अपि पावरले ६ वटा जलविद्युत र सौर्य आयोजनाहरू सफलतापुर्वक सञ्चालन गरिरहेको छ। जसमा ४० मेगावाटको माथिल्लो चमेलिया, ८.५ मेगावाटको नौगड गाड, ८ मेगावाटको अपर नौगड गाड र अन्य ३ वटा सौर्य आयोजनाहरू समावेश छन्। कम्पनीले थप विस्तार गर्दै बारा जिल्लामा ८ मेगावाट क्षमताको परवानीपुर सौर्य आयोजना निर्माण गरिरहेको छ।
कर छुटले थप फाइदा
८.५ मेगावाटको नौगड गाड जलविद्युत आयोजनाले २०८२ भदौ २ गतेदेखि व्यावसायिक उत्पादनको १० वर्ष पूरा गरेको छ। आयकर ऐन अनुसार अब आगामी ५ वर्षसम्म यस आयोजनाले आयकरमा ५० प्रतिशत (१२.५% मात्र कर लाग्ने) छुट पाउनेछ, जसले कम्पनीको आगामी नाफामा थप सकारात्मक प्रभाव पार्ने देखिन्छ। आगामी आर्थिक वर्षमा अनुकूल मौसम (Hydrological conditions) रहने अपेक्षा गरिएकोले विद्युत बिक्री आम्दानी अझै बढ्ने कम्पनीको प्रक्षेपण छ। चौथो त्रैमाससम्ममा कम्पनीको चुक्ता पुँजी ६ अर्ब ३७ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब २४ करोड रुपैयाँ सञ्चित छ। सेयर बजारमा पनि यस कम्पनीको सेयर कारोबार निकै सक्रिय रहेको छ।
Shares