बैङ्किङ क्षेत्रका प्रेरणादायी नेतृत्व सुनील केसी ‘मिडिया ठाँटी सम्मान–२०८३’बाट सम्मानित
काठमाडौं। नेपालको बैङ्किङ तथा वित्तीय क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएका वरिष्ठ बैङ्कर सुनील केसी ‘मिडिया ठाँटी सम्मान–२०८३’ बाट सम्मानित हुनुभएको छ। उक्त सम्मान मिडिया ठाँटी प्रा.लि.को तेस्रो वार्षिकोत्सव तथा चौथो वर्ष प्रवेशको अवसरमा आयोजित विशेष समारोहमा प्रदान गरिएको हो।
कार्यक्रममा पूर्वप्रहरी नायब महानिरीक्षक एवं वरिष्ठ समाजसेवी रमेशप्रसाद खरेलले विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूसँगै केसीलाई सम्मान प्रदान गर्नुभएको थियो।
सुनील केसीले नेपालको बैङ्किङ क्षेत्रमा ३५ वर्षभन्दा बढी समय नेतृत्व गर्दै लघु, साना तथा मझौला उद्यम (SME), कृषि वित्त, हरित तथा दिगो वित्त (Green Finance), ESG र वित्तीय समावेशीकरणको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुभएको छ। उहाँ पूर्व एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) समेत हुनुहुन्छ।
उहाँको नेतृत्वमा एनएमबी बैंकले कृषि, नवीकरणीय ऊर्जा, साना तथा मझौला उद्यम र दिगो विकासका क्षेत्रमा उल्लेखनीय लगानी विस्तार गर्नुका साथै हरित बैङ्किङ अभ्यासलाई संस्थागत बनाएको थियो। यस योगदानका कारण बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रतिष्ठित सम्मान प्राप्त गरेको थियो।
मिडिया ठाँटी प्रा.लि.ले समाज र राष्ट्र निर्माणमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूको सम्मान गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रममा शिक्षा, स्वास्थ्य, पत्रकारिता, साहित्य, उद्योग–व्यवसाय, सामाजिक सेवा, कला तथा संस्कृतिलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू सम्मानित भएका थिए।
सुनील केसीलाई प्रदान गरिएको ‘मिडिया ठाँटी सम्मान–२०८३’ लाई नेपालको बैङ्किङ क्षेत्र, दिगो वित्तीय विकास र जिम्मेवार नेतृत्वप्रति गरिएको उच्च सम्मानका रूपमा हेरिएको छ।
Shares