तेह्रथुम पावरको अवितरित हकप्रद सेयर बिक्री खुला
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर आजदेखि लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री खुला गरेको छ ।
कम्पनीले असार १६ गतेदेखि साउन ११ गतेसम्म हाल कायम चुक्ता पुँजी ४० करोड रुपियाँबराबरको १ः१ अनुपातमा प्रतिसेयर १०० अंकित दरका ४० लाख कित्ता हकप्रद निष्कासन गरेको थियो । जसमा जेठ ४ गतेसम्म कायम सेयरधनीले आवेदन दिएका थिए । यसरी रीतपूर्व आवेदन दिने शेयरधनीलाई ३५ लाख ८१ हजार २६२ कित्ता बाँडफाँट गरिएको हो ।
बाँकी रहेको सर्वसाधारण समूहको ४ लाख १८ हजार ७३८ कित्ता लिलाली प्रक्रियामार्फत बिक्रीमा ल्याएको हो ।
प्रतिकित्ता न्यूनतम १०० रुपियाँ तोकिएको उक्त सेयर खरिदका लागि लगानीकर्ताले भदौ ३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका साथै नबिल बैंकका विराटनगर, बिर्तामोड, वीरगन्ज, हेटौंडा, जावलाखेल, सूर्यविनायक, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
Shares