हज यात्राबाट बचेको रकम फिर्ता गर्दै हज समिति

अर्थकागज
प्रकाशित: २७ भदौ २०८१
Image description

काठमाडौं । नेपाल हज समितिको सचिवालयले हज यात्राबाट बचत भएको रकम सबै यात्रुहरुलाई फिर्ता गर्ने भएको छ । रकम फिर्ता गर्नका लागि समिति सचिवालय सुचना जारी गरेको छ । समितिले यस पटक प्रति व्यक्ति २३ हजार ४०० रुपैयाँ फिर्ता गर्ने भएको छ । 

समिति सचिवालयले प्रेस सम्मेलनका आयोजना गरी भर्खरै सम्पन्न भएको हज यात्रा सुखद र सफल भएको बताएको छ । ‘यो वर्ष हामीले हज यात्रीलाई मक्का नजिक राख्न सफल भयौ । खानाको मेनुमा पनि धेरै परिवर्तन ल्यायौ । बसाई अवधिमा यात्रुलाई कुनै पनि कठिनाई हुन नदिनका लागि साउदी सरकार, साउदी स्थित नेपाली दुतावाससँग सहकार्य गरयौ’, उनले भने ।हजमा विभिन्न मुलकका मानिसहरुको सहभागिता हुन्छ । धेरै भिड हुने भएकाले खान, बस्न र स्वास्थ्य सम्बन्धी समस्या हुँदा व्यवस्थापन गर्न कठिन हुन्छ । तर, यस पटक सचिवालयले सबै व्यवस्थापन चुस्त राख्न सफल भएको उनले बताए । त्यस्तै, नेपालबाट हज यात्रामा जान थालेको ६१ वर्ष भयो । यो अवधिमा कमिटिले पहिलो पटक यात्रीलाई धेरै रकम फिर्ता गर्न सफल भएको उनले दाबी गरे । ‘म अध्यक्ष नियुक्त हुँदा पनि पारदर्शी प्रक्रियाबाट भए । मैले पनि आफुले गर्ने काम सबै पारदर्शी र कम खर्चिलो गर्ने कोशिस गरेको छु,’ उनले भने । 

समितिले प्रति व्यक्ति चार लाख १५ हजार रुपैयाँ संकलन गरेको थियो । तर, अनुमान गरे भन्दा खर्च कम भए पछि कमिटिले रकम फिर्ता गर्न लागेको उनले बताए । ‘रकम फिर्ता गर्नका लागि हामीले खाता नम्बर टिपाउन सुचना जारी गरेका छौ । नम्बर प्राप्त भएपछि हामी अनलाईन नै भुक्तानी गरिदिन्छौ, उनले भने ।यो वर्षको हज यात्राको लागि नेपालले १२०० कोटा पाएको थियो । तर, जम्मा ७६४ जना मात्रै हज यात्रामा सहभागी भएको समितिका अध्यक्ष इश्रा मूल्ला मियाँले बताए । आर्थिक मन्दीका कारण यो पटक हज यात्रामा कम व्यक्ति सहभागी भएको उनले बताए । हजमा यात्रामा दुई जना चिकित्सकको पनि सहभागीता थियो । 

आगामी वर्षको हज यात्राको लागि निवेदनको आवहान

त्यसैगरी हज समितिले आगामी वर्षको हज यात्राको लागि आवेदन माग गरेको छ । आगामी वर्षको लागि पनि नेपालले १२०० कोटा प्राप्त गरेको हज कमिटिका सदस्य सचिव झन्कनाथ ढकालले बताए । उनका अनुसार साउदी अरबले सम्बन्धित मुलुकमा रहेका मुश्लिम समुदायको संख्याको आधारमा कोटा तोक्दै आएको छ । प्राप्त निवेदनको आधारमा हज यात्रामा जानेको सुची सार्वजनिक गरिने उनले बताए । त्यस्तै, आगामी वर्षको हज यात्राको अवधि छोट्याउने कमिटिको योजना रहेको उनले बताए । सामान्यता ४२ देखि ४४ दिनसम्म हज यात्राको अवधि हुन्छ । तर, ३२ दिनमा पनि यसलाई छोट्याउन सकिने पाईएपछि हामीले यसलाई छोट्याउन खोजेको उनले बताए । अवधि छोट्याउन खर्च पनि कम हुन्छ । साधन र स्रोतको कम लाग्ने भएकोले सबै सल्लाह अनुसार अवधि छोट्याउन लागिएको उनले जानकारी दिए । 

त्यस्तै कमिटिले हज यात्राको कार्यविधि शंसोधन गरी हज यात्रीले जम्मा गरेको रकमबाट प्राप्त व्याजलाई आकस्मिक खर्चमा प्रयोग गर्न सकिने व्यवस्था गर्न लागिएको उनले बताए । ुयात्रामा विभिन्न समस्या हुन्छन् । अचानक पर्ने समस्याको खर्चका लागि हामीसँग छुट्टै बजेट हुँदैन । यता यात्रीले जम्मा गरेको रकमबाट केही ब्याज पनि आउछ । त्यसैले त्यो ब्याज रकमलाई आकस्मिक खर्चमा प्रयोग गर्ने गरी कार्यविधि शंसोधन गर्न प्रस्ताव गरेका छौ, उनले भने ।

हज यात्रीको लागि चुस्त मेडिकल टिमको व्यवस्था गर्न कमिटिको आग्रह

नेपाल हज सचिवालयले हज यात्रामा जाने यात्रुको लागि मेडिकल टिमको व्यवस्थापन गरिदिन सरकारसँग आग्रह गरेका छन् । हजको बसाइमा नेपालबाट जाने नेपालीलाई हावापानीका कारण स्वास्थय समस्या हुने भएकाले आफनै मेडिकल टिमको व्यवस्था गर्न कमिटिले आग्रह गरेको हो ।हजमा जाने नेपाली यात्रुमध्ये कतिपयले पहिलो पटक गाँउ छोडेर बाहिर निस्केका हुन्छन् । साउदीको गर्मी र एसीको कारण नेपाली यात्रीलाई स्वास्थ्य समस्या हुने कमिटिका प्रवक्ता मिर्जा रासिद बेगले बताए । त्यसैले सहज र तत्काल उपचारका लागि मेडिकल टिम नै व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । हजको लागि साउदी जाने प्रत्येक मुलुकसँग छुट्टै मेडिकल टिम नै हुन्छ । यात्रु बस्ने अस्पतालमा प्रत्येक मुलुकले अस्पताल नै सञ्चालन गरेका हुन्छन् । तर, नेपालले भने त्यस्तो केही व्यवस्थापन नगरेको भन्दै उनले दुख व्यक्त गरे । ‘हावापानीको कारण यो वर्ष पनि कति नेपाली यात्री विरामी हुनु भयो । तर, हाम्रो समितिका सदस्यहरुले सक्रिय भएर ठूलो समस्या हुनबाट जोगायौ,ु उनले भने ।त्यसैले सरकारले पनि केही खर्च गरेरै भए पनि नेपाली हज यात्रीको लागि कम्तिमा पनि चार जनाको मेडिकल टिम र पर्याप्त औषधी उपकरणको व्यवस्थापन गर्न उनले सरकारसँग आग्रह गरे ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर