पशुपतिनाथ मन्दिरमा तिजको उल्लास
काठमाडौँ । हरितालिका तिज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा आराधना गर्न आउने भक्तजनको व्यवस्थापन, सुरक्षा र मन्दिर दर्शन गर्ने सम्पूर्ण प्रबन्ध मिलाइएको छ ।
पशुपति क्षेत्र विकास कोषका अनुसार बिहीबार साँझदेखि नै सम्पूर्ण भक्तजन र श्रद्धालुका लागि पशुपतिनाथ मन्दिर दर्शनमा सहजीकरण गर्न थालिएको छ । शुक्रबार बिहानैदेखि आउने ब्रतालुको व्यवस्थापनको तयारी पूरा भएको छ । नित्य दर्शनार्थी बिहान ६ः०० बजेसम्मका लागि मात्र चार ढोकामध्ये जुनसुकै ढोकाबाट प्रवेश गरी दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको समेत बताइएको छ ।
तिज महिलाहरुको विशेष सद्भाव र आस्थाका पर्व भएकाले अन्य दर्शनर्थीहरुले बिहान ६ बजे नै दर्शन गरिसक्नुपर्ने छ । मन्दिर दर्शनका लागि कुनै पनि किसिमको पासको व्यवस्था गरिएको छैन । दर्शनार्थीको सेवासुविधाका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंसेवा, चन्दन, प्रसादको व्यवस्था, दर्शन मार्गको व्यवस्था एवं सुधार, पाउपोस (जुत्ता, चप्पल) राख्ने ठाउँको व्यवस्था मिलाइएको छ ।
आकस्मिक स्वास्थ्य सेवा, उपासनासहितको मनोरञ्जनात्मक भजनकीर्तन, दीपावली, व्रतालुले गौदान गर्ने स्थानको व्यवस्था जस्ता कार्यक्रमलाई सहज रूपमा गर्ने व्यवस्था मिलाइएको छ ।
Shares