दार्चुला पावरले ३० लाख कित्ता आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त
काठमाडौं । दार्चुला पावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशनको लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
सम्झौतापत्रमा दार्चुला पावरको तर्फबाट अध्यक्ष सतिस न्यौपाने तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कम्पनीले अंकित मूल्य रु १०० का दरले ३० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो, जुन जारी पुँजीको २० प्रतिशत हो।
कम्पनीले दार्चुलामा २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत अयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल लागत ५६६ करोड रहेको छ ।
आयोजनामा नेपाल बैंक र नबिल बैंकले लगानी गर्ने गरि वित्तीय व्यवस्थापन भईसकेको छ। यी दुई बैंकले आयोजनामा ७५ प्रतिशत ऋण लगानी गर्ने भएका हुन् । जसमा नेपाल बैंकले २२४.५ करोड लगानी गर्ने छ भने नबिल बैंकले २०० करोड लगानी गर्ने छ । दुई बैंकले ४२४.५ करोड ऋण लगानी गर्ने भएका हुन् ।
सो आयोजना निर्माणको लागि आवश्यक स्वपूँजी १ अर्ब ४२ करोड ५२ लाखको ५१.५८२ प्रतिशतले हुने रकम ७३ करोड रुपैयाँ अपि पावर कम्पनी लिमिटेडले दार्चुला पावर लिमिटेडमा लगानी गरेको छ।
यो आयोजना दार्चुलाको मार्मा गाउँपालिकामा छ । उक्त आयोजनाको निर्माण कार्यहरु द्रुत गतिमा अगाडि बढेको र आगामी डेढ वर्षमा निर्माण कार्य सम्पन्न गरी राष्ट्रि प्रसारण लाइनमा जोड्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।
Shares