आजदेखि झापा इनर्जीको आईपीओ बिक्री खुला
काठमाडौं । झापा इनर्जी लिमिटेडले आजदेखि आईपीओ बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपियाँका दरले जम्मा ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते अनुमति पाएको छ ।
कुल निष्कासनमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ३ लाख ८० हजार १९० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र १५ प्रतिशत अर्थात् ५७ हजार २९ कित्ता आईपीओ वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको छ ।
आयोजना प्रभावितका लागि छुट्याइएको १ लाख ९० हजार ९५ कित्ताका आईपीओमा झापाको शिवसताक्षी नगरपालिका वडा नं ४ स्थित आयोजनाको १०० मिटर वरपर बस्नेले र बाँकी १ लाख ९० हजार ९५ कित्ताका लागि सोही आयोजनाको १०० मिटर वरपरको क्षेत्रबाहेकमा बस्नेले आवेदन दिन सक्नेछन् ।प्रभावितले आयोजना स्थान शिवसताक्षी वडा नं. ४, हिमालयन बैंकका शाखाहरू दूधे, दमक, सुरुंगाका साथै माछापुच्छ्रे बैंकको शाखा सुरुंगा, दमकमा पनि दरखास्त फाराम प्राप्त गर्न सक्नेछन् । ती फाराम सोही स्थानमा बुझाउन सकिनेछ । दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । आयोजना प्रभावित बासिन्दाका लागि निष्कासन बन्द छिटोमा साउन २८ गते हुनेछ भने ढिलोमा भदौ १२ गते हुनेछ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने छिटोमा साउन १८ र ढिलोमा साउन २८ गतेभित्रै आवेदन दिइसक्नुपर्नेछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।
Shares