नेत्रज्योति संघ र सिबिएमबिच सहकार्यको ४० बर्षः १ करोड २० लाख बढिलाई आँखा उपचार सेवा
नेपाल नेत्रज्योति संघ र दातृ निकाय सिबिएम बिचको सहकार्यको गौरवपुर्ण ४० बर्ष पुरा भएको छ ।
सन् १९८२ सालमा नेत्रज्योति संघको आग्रहमा सिबिएमले जर्मनबाट डा. अल्बर्ट हेनिङ र उनकि श्रीमतिलाई नेपालमा आँखा स्वास्थ्य सेवाको विकास र विस्तारका लागि नेपाल पठाएसंगै दुईसंस्थाहरुका बिचमा औपचारिक सहकार्यको प्रारम्भ भएको थियो ।
यी दुई संस्थाहरु बिचमा सहकार्य सुरुवात हुनुअघि सन् १९८१ मा ०.८४ प्रतिशत रहेको नेपालको अन्धोपनाको अवस्था अहिलेसम्म आइपुग्दा घटेर ०.२८ प्रतिशतमा झरेको छ । नेपालले प्राप्त गरेको यो उपलब्धिमा यी दुई संस्थाहरुबिचको सहकार्यले महत्वपुर्ण स्थान ओगटेको छ ।
संघका संस्थापक महासचिव एबं नेपालको आखाँ स्वास्थ्य प्रणालीका परिकल्पनाकार प्रा.डा रामप्रसाद पोख्रेल ‘आँखाबा’ को आँखा स्वास्थ्य सेवालाई देशैभरी बिस्तार गर्ने योजनालाई मुर्त रुप दिने क्रममा जर्मनबाट आएका डा. हेनिङलाई तत्कालिन पुर्वान्चल विकास क्षेत्रमा आँखा स्वास्थ्य क्षेत्रको विकास र बिस्तारका लागि लहानमा पठाइएको थियो ।
सिबिएमबाट खटाइएका डा.हेनिङको अनवरत प्रयास र मेहनतमा स्थापना भएको लहानको नेपाल नेत्रज्योति संघ सगरमाथा चौधरी आँखा अस्पताल र विराटनगर आँखा अस्पताल अहिले विश्वमै सबैभन्दा सर्बसुलभ मूल्यमा गुणस्तरिय आँखा उचार सेवा प्रवाह गर्दै आइरहेका छन् ।
अहिले नेपाल नेत्रज्योति संघ लहान आँखा तथा कान उपचार प्रणाली तत्कालिन (EREC-P) अन्तरर्गत २ वटा विशिष्टिकृत सेवा सहितका आँखा अस्पताल र ३१ वटा आँखा उपचार केन्द्रहरु संचालनमा छन् । स्थापना कालदेखि हालसम्म सिबिएमले निरन्तर रुपमा EREC-P लाई सहयोग गर्दै आइरहेको छ ।
स्थापना देखि हालसम्म लहान आँखा तथा कान उपचार प्रणली अन्तरगतका आँखा अस्पताल तथा आँखा उपचार केन्द्रहरुमार्फत १ करोड २० लाख मानिसहरुले आँखा उपचार सेवा प्राप्त गरिसकेका छन् भने २० लाखभन्दा बढि बिरामीहरुको आँखाको शल्यक्रिया सम्पन्न भएको छ ।
लहान आँखा तथा कान उपचार प्रणाली अन्तरगतका बिराटनगर र सगरमाथा चौधरी आँखा अस्पतालमा दैनिक हजारौ भारतिय बिरामीहरु आँखाको उपचार गराउन आउने गर्दछन् । यी अस्पतालहरुले शुलभ मूल्यमा गुणस्तरिय आँखा उपचार सेवा प्रवाह गर्ने भएकाले सिमा क्षेत्रका भारतिय जिल्लाहरुमा समेत यी अस्पतालको सेवा प्रख्यात छ ।
सन् १९८१ भन्दा पहिले नेपालका आँखाका बिरामीहरु उपचारका लागि छिमेकी मुलुक भारतमा जानुपर्ने बाध्यता थियो तर अहिले अवस्था फेरिएको छ नेपालका आँखा अस्पतालले प्रभाव गर्ने गुणस्तरिय र सस्तो उपचार सेवाका कारण अहिले बार्षिक लाखौँ भारतिय नागरिकहरु नेपालमा उपचारका लागि आइरहेका छन् । नेपालको आँखा स्वास्थ्य प्रणालीको विकास र विस्तारमा सिबिएम जस्तै दातृ निकायहरुको महत्वपुर्ण योगदान रहर्दै आएको छ ।
नेपाल नेत्रज्योति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५० भन्दा बढि आँखा उपचार केन्द्र र ४४ जिल्ला शाखाहरुमार्फत सस्तो मूल्यमा गुणस्तरिय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।
सगरमाथा चौधरी आँखा अस्पताललाई अनुसन्धान केन्द्रका रुपमा स्थापना गराउनमा डा.हेनिङको भुमिका एकदमै महत्वपुर्ण रहेको थियो । सन् १९९७ मा उनले पत्ता लगाएको ‘फिस हुक’ नामक मोतिबिन्दुको शल्यक्रिया प्रणाली विश्वभरी नै प्रख्यात छ ।
नेपालमा सस्तो मूल्यमा गुणस्तरिय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको नेत्रज्योति संघका विभिन्न कार्यक्रमहरुमा सिबिएमले निरन्तर सहयोग र सहकार्य गर्दै आइरहेको छ । अहिले पनि नेत्रज्योति संघ र सिबिएमको सहकार्यमा कोशि प्रदेश, मधेश प्रदेश र कर्णाली प्रदेशमा विभिन्न कार्यक्रमहरु संचालनमा छन् ।
कर्णाली प्रदेशमा एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमः
सिबिएमको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघले कर्णाली प्रदेशमा एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रमबाट हालसम्म ५ हजार भन्दा बढि मानिसका आँखाको निःशुल्क शल्यक्रिया गरि ज्योति प्रदान गरिसकिएको छ ।
नेपालको सबैभन्दा बिकट मानिने कर्णाली प्रदेशका सबै जिल्लाहरुमा यो कार्यक्रमले निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सञ्चालन गरिसकेको छ । पहुँच र पैसाको अभावका कारण कोहि पनि नागरिक दृष्टिबिहिन भएर बस्नु नपरोस् भन्ने हेतुले यो कार्यक्रमले प्रदेशका बिकट जिल्लाहरुमा पुगेर शिविर सञ्चालन गरिरहेको छ ।
संघ र सिबिएमको सहकार्यमा सञ्चालित उक्त कार्यक्रमले पहुँचको अभावमा बर्षोदेखि दृष्टिबिहिन जिवन विताउन बाध्य भएका कर्णाली प्रदेशका विकट जिल्लाका नागरिकहरुले निःशुल्क उज्यालो प्रदान गरिरहेको छ ।
त्यस्तै यो कार्यक्रमले कर्णाली प्रदेशमा निःशुल्क रुपमा कान उपचार सेवा समेत प्रवाह गरिरहेको छ । विभिन्न जिल्लाहरुमा शिविर मार्फत कानको परिक्षण गरी उनिहरुको सुन्ने क्षमता बढाउने मेसिनहरु वितरण समेत गरिएको छ ।
प्रतिक्रियाहरू
Jeebaprasad
2 years ago
Very good work keep it up.
Shares