हामीले सेयरधनीहरुलाई भविष्यमा राम्रो प्रतिफल दिनकै लागि हकप्रद सेयर निकालेको हौँ-प्रतीक्षा शर्मा, निमित्त सिईओ, आँखुखोला जलविद्युत कम्पनी
आँखुखोला जलविद्युत कम्पनीले साउन २७ गतेदेखि १५० प्रतिशत अर्थात् १०० बराबर १५० कित्ताका दरले हकप्रद सेयर निष्कासन गरेको छ । सेयरधनीले आगामी भदौ १६ गते सम्म हकप्रद सेयर भर्न पाउने छन् । कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेकोमा हकप्रद निष्कासनपछि १ अर्ब २० करोड पूँजी थपिने छ । २०८१ असार मसान्तसम्म सेयर किन्नेहरुले आँखुखोलाको हकप्रद सेयर भर्न पाउनेछन् ।
कम्पनीको अहिलेको अवस्था र हकप्रदबाट संकलित रकम कहाँ खर्च गर्ने योजना छ भनी हामीले आँखुखोला जलविद्युत कम्पनी लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रतीक्षा शर्मासँग गरिएको कुराकानीको संपादित अंशः
सेयरधनीहरूले आँखुखोला जलविद्युत कम्पनीले निश्कासन गरेको हकप्रद सेयर किन किन्ने ?
सेयरधनीहरुले सबै भन्दा पहिला आफ्नो लगानीको प्रतिफलको बिषयमा सोच्ने हो । हकप्रद सेयर भनेको तुरुन्तै बिक्रि गर्न पाउने सेयर हो जुन उहाँहरुले प्रति कित्ता मात्र रु १०० मा किन्ने हो । यसरि हेर्दा आज लगानी गरेर निकट भविष्यमा तुरुन्तै राम्रो प्रतिफल पाइन्छ भने किन नकिन्ने ?
अर्काे कुरा आँखु खोला हिमनदी भएकोले यसमा पानीको बहाव तुलनात्मक रुपमा राम्रो हुन्छ र यसको भविष्य लामो समय सम्म रहन्छ ।
हामीले हकप्रद सेयरबापत प्राप्त रकमबाट बैंकको ऋण घटाउनका साथै अर्को ठुलो परियोजनामा (२० मेगा वाट) लगानी पनि गर्दैछौ । यसरी हेर्दा अल््पकालीन र दिर्घकालिन दुवै हिसाबले हकप्रद सेयरमा लगानी गर्न उपयुक्त देखिन्छ भन्ने लाग्छ ।
त्यसो भए आखुखोला जलविद्युतको लाभांस पाउन लगानीकर्ताले कति वर्ष पर्खनुपर्ला ?
ठ्याक्कै यति वर्ष भनेर किटान गर्न त गाह्रो हुन्छ । तथापी हामीले इनर्र्जी जेनेरेट राम्रैसँग गर्दै आइरहेका छौँ । यस पटक बैंक ऋण पनि ४० करोड ले एकमुष्ठ घट्छ । फेरी नयाँ परियोजनामा पनि लगानी गर्दै छौ । हामीले सोचे अनुरुप भएमा अबको २ /३ वर्ष भित्रमा लाभांस खुवाउन सकिन्छ भन्ने छ ।
नयाँ प्रोजेक्टमा राम्रो गर्नुहुन्छ भन्ने आधार के छ त ?
नयाँ परियोजना पनि आँखुखोलामै रहेको र हालको प्रोजेक्ट नजिकै रहेको छ । हालको प्रोजेक्टबाट हामीले प्रशस्त सिक्ने मौका पाएका छौ । यसमा भएका कमी कमजोरी सुधारेर अगाडी बढ्ने छौ । यसको साथ साथै नयाँ प्रोजेक्टमा पहुँच सडक र ट्रान्समिसन लाइनको लागि पनि धेरै खर्च गर्न पर्दैन । तुलनात्मक रुपमा ठुलो परियोजना भएकोले प्रति मेगा वाट खर्च औसतमा कम नै लाग्नेछ भन्ने बिश्वास छ ।
यस बाहेक पनि अन्य केहि योजना छ कि ?
हरेक कम्पनीको उदेश्य भनेको कसरि चाडो भन्दा चाडो मुनाफा गर्ने र सेयर धनीलाई लाभांश वितरण गर्ने भन्ने नै हुन्छ । जलबिद्युत कम्पनीको पहिलो चुनौती बत्ति बाल्नु हुन्छ । त्यस पछी आइ पिओ जारी गर्नु हुन्छ । हामीले यी चरण पार गरिसकेर अर्को परियोजनामा लगानी गर्दै छौ । हामी यतिमै सिमित हुदैनौ । निरन्तर रुपमा राम्रा परियोजनाको खोजीमा बोर्ड लागि परिरहेकै हुन्छ । उपयुक्त मौका पाएमा थप परियोजनामा समेत लगानी गर्दै जाने छौ ।
अन्त्यमा सेयरधनिहरुलाई के संदेश दिन चाहनुहुन्छ ?
तपाईंहरूकै बिश्वास र मायाले आज हामी यहाँ सम्म पुगेका हौ । बजारले पनि हामीलाई साथ् दिएको छ । हामीले प्रथम पटक यो हकप्रद सेयर निस्काशन गरेका छौं । यस अवसरको फाइदा उठाउनुस र आफ्नो अधिकारको सेयर खरिद गरि लाभंदित हुनुहोस भन्ने संदेश दिन चाहन्छु ।
यो पनि
'हकप्रदको पैसाले ऋण तिर्छौँ, नयाँ आयोजना गर्छौँ र सेयरधनीलाई लाभांश बाँड्छौँ' (अन्तरवार्ता)
प्रतिक्रियाहरू
Devnarayan Kumar yadav
2 years ago
EPs and net worth is minus please manage it
Shares