समस्याग्रस्त कर्णाली सहित ५ विकास बैंक घाटामा
काठमाडौं । चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा १७ विकास बैंकमध्ये ५ घाटामा रहेका छन् । नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको मासिक तथ्याङ्क अनुसार कर्णाली डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सालपा विकास बैंक घाटामा रहेका हुन् ।
तीमध्ये सबैभन्दा बढी घाटा कर्णाली डेभलपमेन्ट बैंकले व्यहोरेको छ। बैंकले माघ मसान्तसम्ममा ७२ करोड १३ लाख रुपैयाँ घाटा व्यहोरेको छ । गत आवको यस अवधिमा भने बैंक ४ करोड ६४ लाख नाफामा थियो । राष्ट्र बैंकले यस बैंकलाई समस्याग्रस्त संस्ठा घोषणा गरी व्यवस्थापन आफ्नै नियन्त्रणमा लिएको छ । राष्ट्र बैंकले गत पुस १० गते यस बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो ।
माघ मसान्तसम्ममा १२ विकास बैंक भने नाफामा रहेका छन्। तीमध्ये सबैभन्दा बढी नाफा कमाउनेमा गरिमा विकास बैंक छ । यस बैंकले माघ मसान्तसम्ममा ६८ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ । यो रकम गत माघ मसान्तको तुलनामा २२.४३ प्रतिशत बढी हो ।
माघ मसान्तसम्म सर्वाधिक नाफा (रकमका आधारमा) कमाउने सूचीमा दोस्रोमा मुक्तिनाथ विकास बैंक छ । यस बैंकले ६२ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको छ ।
Shares