नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक, मुद्दती निक्षेपमा ५.१५% सम्म व्याज
काठमाडौँ । नेपाल बैंक लिमिटेडले असोज १ गतेदेखि लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले निक्षेप तथा कर्जाका विभिन्न योजनामा नयाँ ब्याजदर निर्धारण गरेको हो ।
बैंकको नयाँ दरअनुसार व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपतर्फ १० वर्षभन्दा बढी अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा वार्षिक ४.१५ प्रतिशतसम्म ब्याजदर कायम गरिएको छ । त्यस्तै, रेमिट्यान्सतर्फ १० वर्षभन्दा बढी अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा ५.१५ प्रतिशतसम्म ब्याजदर तोकिएको छ ।
साधारण बचततर्फ अधिकांश बचत खातामा २.७६ प्रतिशतदेखि ३.०१ प्रतिशतसम्म ब्याजदर रहेको छ । रेमिट्यान्स बचत तथा आईपीओ बचत खातामा भने ४.०१ प्रतिशत ब्याजदर कायम गरिएको छ ।
त्यस्तै, कर्जातर्फ बैंकले विभिन्न ऋणमा बेसरेटमा थप प्रिमियम जोडेर ब्याजदर निर्धारण गरेको छ। बैंकको पछिल्लो तीन महिनाको औसत बेसरेट ४.४५ प्रतिशत रहेको छ भने श्रावण २०८३ को बेसरेट ३.४५ प्रतिशत रहेको उल्लेख गरिएको छ ।
रिटेल टर्म लोनअन्तर्गत ५ वर्ष अवधिको घर कर्जामा ७.९९ प्रतिशत, ५ वर्षे अटो लोनमा ७.९० प्रतिशत तथा व्यक्तिगत टर्म लोनमा ८.५० प्रतिशत ब्याजदर तोकिएको छ। केही कर्जाको ब्याजदर अवधि र योजनाअनुसार फरक–फरक रहेको बैंकले जनाएको छ ।
बैंकले नयाँ ब्याजदर असोज १ गतेदेखि लागू हुने जनाएको छ । साथै, ब्याजदर तथा कर्जासम्बन्धी थप विवरणका लागि बैंकका शाखा तथा सम्बन्धित सेवा केन्द्रमा सम्पर्क गर्न सकिने जनाएको छ ।
Shares