भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरपरिवारलाई ४५ हजारका दरले राहत वितरण
काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ घरपरिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद राहत वितरण गरेको छ ।
विश्व खाद्य कार्यक्रमले उपलब्ध गराएको सहयोग स्थानीय तहसँगको समन्वयमा एकद्वार प्रणालीमार्फत वितरण गरिएको हो । रसुवाका पाँच, नुवाकोटका चार र धादिङका दुई गरी ११ स्थानीय तहका प्रभावित परिवारले राहत पाएका छन्।
तथ्याङ्क प्रमाणीकरण हुन बाँकी करिब १ हजार ४०० घरपरिवारलाई पनि तीन दिनभित्र राहत वितरण गरिसक्ने सरकारको तयारी छ ।
गत असोज २३ गते बसेको केन्द्रसहित तीनवटै जिल्लाका मनसुन प्रतिकार्य कमान्ड पोस्टको संयुक्त बैठकले प्रभावित घरपरिवारको पहिचान, प्रमाणीकरण र शीघ्र पुनर्लाभलाई व्यवस्थित गर्ने निर्णय गरेको थियो ।
रेडक्रससहित अन्य विकास साझेदारले पनि नगद सहयोग गर्न चाहेकाले दोहोरो सहायता नपर्ने र कुनै पनि प्रभावित परिवार नछुट्ने गरी राहत वितरण गर्न सरकारले स्थानीय तह तथा सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
यसैबीच, बाढी प्रभावितको दीर्घकालीन पुनर्स्थापना र व्यवस्थापनका लागि पनि काम तीव्र पारिएको सरकारले जनाएको छ ।
Shares