२५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न नेको इन्स्योरेन्सलाई बोर्डले दियो अनुमति

अर्थकागज
प्रकाशित: ०९ पुस २०८१
Image description

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । बोर्डले पुस ९ गते कम्पनीलाई हाल कायम चुक्तापूँजीको आधारमा २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा २५ प्रतिशतले हुन आउने ५० करोड ३० लाख ९० हजार रुपैयाँ बराबरको ५० लाख ३० हजार ९०१ दशमलव ५५ कित्ता हकप्रद शेयर निष्कासनका लागि बोर्डले कम्पनीलाई अनुमति प्रदान गरेको हो ।

यो हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । नेको इन्स्योरेन्सले उक्त हकप्रद शेयर निष्कासनका लागि २०८० चैत ६ गते आवेदन दिएको थियो । यस कम्पनीलाई नियामकको निर्देशनबमोजिम २ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने अवस्था छ । पूँजी वृद्धिकै लागि कम्पनीले हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यो हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ५१ करोड ५४ लाख ५० हजार रुपैयाँभन्दा बढी कायम हुनेछ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म यो कम्पनी ७ करोड ४ लाख रुपैयाँभन्दा बढी खुद नाफामा छ । वार्षिक प्रतिशेयर आम्दानी १४ रुपैयाँ १ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने २७९ रुपैयाँ ८१ पैसा छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर