४४.६१ प्रतिशतले बढ्यो अपि पावरको नाफा
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म खुद नाफामा ४४.६१ प्रतिशतको छलाङ्ग मारेको छ ।
कम्पनीको विवरण अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २६ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.६१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १८ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १३.३१ प्रतिशत बढेको छ भने कुल नाफा १०.७९ प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च भने ३७.५७ प्रतिशत घटेको छ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४ रुपैयाँ ७४ पैसा बढेर १७ रुपैयाँ ३० पैसा पुगेको छ। पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ७४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.६२ गुणा रहेको छ । ६ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ८९ करोड ५७ लाख रुपैयाँ छ ।
अब्बल व्यवस्थापनको कारण आफूलाई जलविद्युत क्षेत्रमा अपि पावर कम्पनीले छुट्टै पहिचान बनाउन सफल भएको छ । सेयरधनीलाई प्रतिफलमा जोड दिने अपि पावर कम्पनीप्रति सेयरधनीहरुको विशेष आकर्षण रहदै आएको छ ।
Shares