दीर्घरोगीको आशाको केन्द्र बन्दै आयुर्वेद स्वास्थ्य केन्द्र

माधव पोखरेल गोज्याङ्ग्रे
प्रकाशित: १९ भदौ २०८०
Image description

उदयपुर । उदयपुरको गाईघाट स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अहिले दीर्घरोगीहरुको आशाको केन्द्र बन्दै गएको छ । यहाँ उपचारकालागि आउनेहरु प्राय जसो जेष्ठ नागरिक हुने गरेको र अन्यत्र उपचार गर्दा रोग ठीक नभएपछि आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचार गराएर स्वस्थ्य हुँदै गएको बताइएको छ ।

काठमाण्डौका ठूला अस्पताल तथा स्वास्थ्य केन्द्रमा उपचार गराएर रोग निको नभएपछि आयुर्वैद स्वास्थ्य केन्द्रमा उपचार गराउन आउने गरेको र सबैभन्दा बढी हाडजोर्नी घुँडा दुख्ने बिरामी हुने गरेको पाइएको छ ।

गाईघाट स्थित जिल्ला आयुर्वैद स्वास्थ्य केन्द्रका प्रमुख डा.सरोज प्रसाद विशालका अनुसार आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचारकालागि आउने बिरामी मध्यृ सबैभन्दा बढी हातखुट्टा दुख्ने, कम्मर दुख्ने, जोर्नी दुख्ने, पेटका बिरामी अम्लपित्तका र पाइल्सका बिरामी उपचारकालागि आउने गरेका छन ।

अहिले दैनिक २५जनादेखि ३५ जनासम्म बिरामी उपचारकालागि आउने गरेको जानकारी दिंदै आयुर्वेद प्रमुख डा. विशालले पहिलेको तुलनामा बिरामीको संख्या बढ्दै गएको र उपचारसेवामा पनि निकै सुधार् भएको बताए ।

घुँडा दुख्ने बिरामी सबैभन्दा बढी निको भएको बताउँदै डा. विशालले आयुर्वेद पद्धती अनुसार पंचकर्म, पूर्व कर्म, अग्नि कर्म तथा क्षरसुत्र विधिबाट गरिने उपचारले धेरै बिरामीहरु स्वस्थ्य भएका छन । जेष्ठ नागरिक सेवा र परामर्श सेवाले महत्वपूर्ण काम गरेको छ । उमेरसँगै बढ्ने रोगको समस्या समाधानकालागि आयुर्वेद उपचार विश्वसनीय रहेको र अंग्रेजी औषधी गरेर थाकेका दीर्घ रोगीहरु बढी आउने गरेको बताए ।

उदयपुर जिल्लामा जिल्ला आयुर्वेद समेत जम्मा छ वटा आयुर्वेद स्वास्थ्य केन्द्र रहेको जानकारी दिदै कार्यालय प्रमुख डा. विशालले कटारी नगरपालिकामा २ , बेलका नगरपालिकामा १, रौतामाई गाउँपालिकामा १ र उदयपुर गढी गाउँपालिकामा १ वटा आयुर्वेद स्वास्थ्य केन्द्र संचालनमा रहेको बताए ।

नेपाल सरकारको निरोगी नेपाल अभियान अन्तर्गत नसर्ने रोग व्यवस्थापनकालागि आयुर्वेद स्वास्थ्य केन्द्र स्थापना भएको र प्राविधिक कर्मचरी व्यवसथापन र तलव भत्ता जिल्लाबाट दिने गरी स्थानीय तहको व्यवस्थापनमा आयुर्वेद स्वास्थ्य केन्द्र संचालन गरिएको उनले जानकारी दिए ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा गत आर्थिक वर्षमा १३ हजार ठ सय ५३ जनाले उपचारसेवा पाएको र आ. ब. ०७८।७९ मा करीब ११ हजार ४सय २७ जनाले उपचार पाएको थिए । आ. ब. ०७७।७८ मा ९ हजार ३ सय १५ जनाले उपचार पाएको तथ्याङ्क हेर्दा उपचारमा आउने बिरामीको संख्या बढदै गएकोले उपचार पद्धती तथा सेवा पनि केही विस्तार भएकोकार्यालय प्रमुख डा. विशालले बताए ।

आयुर्वेद उपचारमा रोगीहरुलाई आकर्षण गराउन समुदायमा गएर सेवा दिने गरेको र यस्तो सेवा दिंदा टोल विकास समिति, नागरिक समाज। म्हिला स्वास्थ्य कार्यकर्ता , महिला स्वयं सेविकासँग समन्वय गरेर सेवा दिन थालेपछि उपचारमा आउने बिरामीको संख्या बढ्दै गएको र यसरी समुदायमा गएर प्रचार प्रसार गर्दा १ हजार ४ सय ३९ जना बिरामी उपचारमा आएको आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा. विशालले बताए ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा ०७९।८०मा ओपिडि सेवा लिनेको संख्या ६ हनार ८ सय ५०, पूर्वकर्म तथा पंचकर्मको सेवा लिने १ हजार ३ सय १ जना, जेष्ठ नागरिक सेवा १ हजार १ सय ४६ जनाले, प्रयोगशाला सेवा १ हजार ८ सय ८३ जनाले। शल्य सेवा ४ सय ४२ जनाले लिएका छन । यसैगरी सतनपायी आमा तथा शिशु सेवा २ सय ५० जनाले,योग सेवा १ सय ४० जनाले लिउका छन भने अन्य सेवा लिनेहरु पनि आउने गरेको आयुर्वेद प्रमुख डा. विशालले बताए ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर