जेनजी आन्दोलनमा भ्रष्टाचारी करार अहिले सुदनका प्यारा

अर्थकागज
प्रकाशित: २५ असोज २०८३
Image description

काठमाडौं । जान्नेलाई छान्ने नारा चाकडी गर्न र घुस खान जान्नेहरुलाई छान्नेमा रुपान्तरण भयो भने सरकारको छवी र निजामती प्रशासन कस्तो बन्दै जाला ? अचेल गृह मन्त्रालयले हरेक हप्ता झैं गर्ने सरुवा र जिम्मेवारी हेरफेरमा विदेशी नागरिकलाई नागरिकता दिएको उजुरी परेका एक उपसचिवलाई उनैका माग बमोजिम अवधि नपुग्दै सरुवा गरिएको छ । सिन्धुलीस्थित कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणनिधी तिवारी त्यहाँ गएका जम्मा ९ महिना मात्र भयो । जागिर अवधिमा नासु हुँदा उनी ५ वर्षभन्दा बढी समय चन्द्रनिगाहापुरस्थित इलाका प्रशासन कार्यालयमा बसे । अधिकृत भइसकेपछि पनि उनी ५ वर्षभन्दा बढी अवधि सोही कार्यालयमा बसे । इलाका प्रशासन कार्यालयको प्रमुख उपसचिव रहने कानूनी प्रावधान रहेपनि उनले अधिकृत हुँदा त्यहाँ कार्यालय प्रमुखको जिम्मेवारी पनि सम्हाले । 

इलाका प्रशासन कार्यायले नागरिकता, राहदानीदेखि राष्ट्रिय परिचयपत्र लगायतका सेवाहरु न्नागरिकलाई प्रदान गर्न सक्दछ । लामो अवधि सो कार्यालयमा बस्दा किरणले थुप्रै भारतीयलाई नेपाली नागरिकता दिएको गृह श्रोतको दाबी छ । यस सम्बन्धमा श्रोतले भन्यो उनका बारेमा गैरकानूनी रुपले भारतीयहरुलाई नागरिकता दिएको उजुरी मन्त्रालयमा परेको छ । यसरी नागरिकता पाएवापत अनागरिकहरुले २ देखि ५ लाखसम्म लगानी गरेका उजुरीमा उल्लेख रहेका पनि श्रोतले उल्लेख गरेको छ । 

उनी तीन महिनाअघि मात्र सो कार्यालयमा सरुवा भई जिम्मेवारीमा रहेका अर्का उपसचिव विनोद पोखरेललाई त्यहाँबाट फालेर चपुर जान सफल भएका हुन् । अहिले चाहिं राम्रै लगानी गरी उनी फेरी त्यहाँ जानुको मनशाय भनेको पुराना गलत कामका फाइलहरु लुकाउनु वा नष्ट गर्नु रहेको हुनसक्ने गृह मन्त्रालयका एक उपसचिवको आशंका छ । जसरी पनि चपुर नै जानका लागि उनले गृहमन्त्रीसम्म नै पहुँच पुर्याइसकेको बताउँदै गफ गर्न भ्याएका छन् । खासमा आफू ९ महिनामै फर्कन र चपुरमा कार्यरत विनोदलाई ३ महिनामै फाल्न सफल भएका किरणले गृह मन्त्रालयका कर्मचारी प्रशासन हेर्ने हाकिमलाई शुभलाभ पुर्याएर काम फत्ते गरेका बुझिएको छ । 

तीन महिनाअघि जिल्ला प्रशासन कार्यालय पर्साबाट चपुर खटाइएका विनोद किरणका कारण भकुण्डो बनेका छन् । इमान्दारीपूर्वक जिम्मेवारी वहन गर्ने स्वभावका उनलाई गृह प्रशासनबाट मालपोत कार्यालय लाहानमा मिल्काइएको छ । किरण चन्द्रनिगाहापुरकै वासिन्दा हुन् र उनको छक्कपर्दो कमाईका बारेमा स्थानीयवासी विश्वस्त छैनन् । स्थानीयवासीसँग उनको सकारात्मक सम्बन्ध पनि नरहेको जेनजी आन्दोलनमा भ्रष्टाचारी भएको आरोपमा उनको घर पनि जलाइएकोबाट प्रष्ट हुन्छ । जेनजी आन्दोलनमा भ्रष्टाचार करार गरी घर जलाइएका कर्मचारी अकिले गृहमन्त्रालयका प्रिय कसरी भए होलान् ? जेनजी आन्दोलनबाटै स्थापित सरकारमा समेत किरणको प्रभाव र पकड देखेर चपुरवासी भन्न थालेका छन् जान्नेलाई छान्ने भनेको चाकडी गर्न र गलत काम गर्न जान्नेलाई चाहिं छान्ने भनेको हो कि ?          


प्रतिक्रियाहरू

सम्बन्धित खबर