आर्थिक मिडिया सञ्चालक संघ (इमान) को महासचिवमा कार्की

अर्थकागज
प्रकाशित: २९ भदौ २०८०
Image description

काठमाडौं । आर्थिक मिडिया सञ्चाल संघ (इमान) को महासचिवमा रामेश्वर कार्की मनोनीत भएका छन् । इमान कार्यसमितिको भदौ २९ गते बसेको पूर्ण बैठकले संस्थाका उपमहासचिव कार्कीलाई महासचिवमा मनोनीत गरेको हो ।

यस अघि महासचिव रहेका सुरज प्याकुरेलले पदबाट दिएको राजिनामा स्वीकृत गरि कार्कीलाई नयाँ महासचिवको जिम्मेवारी दिइएको इमानका उपाध्यक्ष माधवप्रसाद तिवारीले जानकारी दिए ।

संस्था स्थापनादेखि सक्रिय भुमिकामा रहेका प्याकुरेलले आफ्ना संस्थामा  बढी समय दिनु पर्ने भएकोले इमानको महासचिवबाट बाहिरिएको अर्थ कागजलाई बताएका छन् ।

प्याकुरेलले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्;'आफ्नै संस्थाको काममा व्यस्त हुनेछु । बाँकी समय पढ्ने, लेख्ने कामलाई दिनुछ । विदाका दिन सेयर सचेतनाका कार्यक्रम लिएर देशबिदेश पुग्नुछ ।'

विगत १८ वर्षदेखि निरन्तर पत्रकारिता पेशामा आबद्ध कार्की विगत ८ वर्ष यता डेभलपमेन्ट मिडिया प्रमोशन प्रा.लि. द्वारा सञ्चालित अर्थतन्त्र डटकमका (सञ्चालक) प्रकाशक हुन् । कार्की २०६६ देखि २०७२ सम्म धादिङको गजुरीबाट प्रकाशित हुने हाइवेखबर साप्ताहिकको पनि प्रकाशक थिए ।

राष्ट्रिय योजना आयोगमा सञ्चार विज्ञको रुपमा तीन वर्ष अनुभव संहालेका कार्की पत्रकारिता क्षेत्रका विभिन्न संघ संगठनमा विभिन्न नेतृत्वदायि पदमा रहि काम गरिसकेका अनुभवी व्यक्ति हुन् । उनी विगत ८ वर्ष यता नेपाल पत्रकार महासंघको एसोसिएट संस्था नेपाल पर्यटन पत्रकार मञ्चको कार्यकारी प्रमुखको रुपमा कार्यरत छन् ।

धादिङलाई कर्मथलो बनाएर पत्रकारिता शुरु गरेका कार्कीले धादिङ आवाज साप्ताहिक, रेडियो पालुङ, हाइवेखबर साप्ताहिक, नयाँ पत्रिका दैनिक, एभिन्यूज टेलिभिजन, नागरिक र रिपब्लिका दैनिकमा आबद्ध भइ पत्रकारिता गरेका थिए ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर