सानिमा रिलायन्स लाइफको नाफा बढ्यो, कस्तो छ अन्य सूचक ?
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफ गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५.४४ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले गत आवमा २१ करोड ९७ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवमा बढेर २३ करोड १६ लाख रुपैयाँ पुगेको हो। नाफासँगै कम्पनीको जीवन बीमाकोषको आकार पनि बढेको छ। गत आवमा जीवन बीमाकोष ११ अर्ब १७ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर १६ अर्ब ६० करोड रुपैयाँभन्दा धेरै भएको छ। त्यसैगरी चालू आवमा कम्पनीको कुल आम्दानी समेत २०.९७ प्रतिशतले वृद्धि भएको छ। गत आवमा कम्पनीको कुल आम्दानी ३ अर्ब ४० करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर ४ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। त्यस्तै कम्पनीको खुद बीमाशुल्क आर्जन पनि चालू आवमा १८.७३ प्रतिशतले वृद्धि भएको छ। गत आवमा कम्पनीको बीमाशुल्क आर्जन २ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर ३ अर्ब ११ करोड रुपैयाँ नाघेको छ। हाल यस कम्पनीको चुक्ता पूँजी ४ अर्ब ९५ करोड रुपैयाँ रहको छ। कम्पनीको रिटेन्ड अर्निङमा ५० करोड ८४ लाख रुपैयाँ र महाविपत्ति कोषमा १३ करोड ४३ लाख रुपैयाँ रहेको छ। त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ९ रुपैयाँ ३६ पैसा र प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ३८ पैसा रहेको छ।
Shares