सार्वजनिक गाडी भाडामा मनपरी, अनुगमन शून्य !
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटबाट जिल्लाका विभिन्न बजार तथा गाउँ संचालन भएका बस तथा अन्य सवारी साधनमा तोकिएको भन्दा बढी भाडा लिने गरेको गुनासो आएको छ ।
कोसी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले उदयपुर जिल्लाकालागि जिल्लाभित्र संचालन हुने ठुला तथा साना भाडाका सवारी साधनको दररेट तोकेको भए पनि गाडीमा आफू खुसी भाडा असुलेको यात्रीहरुले बताएका छन् ।
कोसी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भदौ ३ गतेको निर्णय अनुसार सोही दिनदेखि लागु हुने गरी सार्वजनिक यातायात अन्तर्गत यात्रु बाहक बस, मिनी बस, जीप तथा भ्यान प्रकृतिका सवारी साधनको पक्की सडकमा संचालन हुनेकालागि भाडा दर तोकेको भए पनि कच्ची सडकमा संचालन हुने सवारी साधनको भाडा उठाएको गुनासो यात्रुहरुले गरेका छन् ।
यस विषयमा यातायात व्यवस्था सेवा केन्द्र गाईघाटका प्रमुख श्याम बहादुर लिम्बुले तोकिएको भन्दा बढी भाडा लिएमा कार्वाहीको जिम्मा ट्राफिक प्रहरीलाई दिइएको र कोसी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले निधौरण गरेको भाडा दर कार्यान्वयन गरिएको बताए ।
मन्त्रालय र यातायात व्यवसायी, यातायात मजदूर सहितको सहमतीका आधारमा भाडा निर्धारण भएकोले बढी भाडा असुल गर्न नपाउने जानकारी दिदै कार्यालय प्रमुख लिम्बुले जिल्ला स्तरमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भदौ १५ गते स्थानीय यातायात व्यवस्था समिति गठन भएको छ । उक्त समितिले जिल्लाभित्र संचालन हुने सार्वजनिक यातायातमा भाडा बढी लिएको नलिएको अनुगमन गर्ने निर्णय गरेको बताए ।
उदयपुरको गाईघाटबाट कटारीको बस, मिनीबसको भाडा १ सय ५९ रुपैया र जीप भयान माइक्रोको २ सय १ रुपैया तोकिएको भए पनि रु ३ सय ५० लिने गरेको छ । पहिले कच्ची सढक हुँदाको बस भाडा सडक कालोपत्रे हुँदा पनि लिइरहेको यात्रुहरले बताएका छन् । गाईघाट बेल्टारको भाडा बस मिनी बसको ७२ रुपैयाँ र जीप भ्यानको ९० रुपैया तोकिएको भए पनि १ सय पचास रुपैया लिने गरेको यात्रुहरुको गुनासो रहेको छ । अहिले गाईघाटदेखि पूर्व बेल्टार रामपुर सोमबारे, सप्तकोशी पुलसम्म र गाईघाट पश्चिम कटारीसम्म मदन भण्डारी लोकमार्गमा सडक कालो पत्रे भएको छ । तर कच्ची सडकमा लिइने भाडा नै तिर्नु पर्ने बाध्यता रहेको यात्रुहरुको भनाई रहेको छ ।
उदयपुर हिमाली यातायातका अध्यक्ष ओमभक्त मैनालीसँग बढी भाडा लिएको विषयमा जिज्ञासा राख्दा प्रदेश सरकारले तोके अनुसार नै भाडा लिएको जानकारी दिंदै पक्की सडक र कच्ची सडकको भाडा दर फरक रहेको छ । यदि कसैले जबर जस्ती बढी भाडा लिएको छ भने त्यसलाई कार्वाही हुने बढी लिएको भाडा फिताृ हुने बताए ।
अध्यक्ष मैनालीले भाडाका सम्बन्धमा यातायात व्यवस्था कार्यालय, जिल्ला प्रशासन कार्यालय, नगरपालिका, ट्राफिक प्रहरी लगायतका कार्यालयले बेला मौकामा अनुगमन गर्नु पर्ने बताए ।
जिल्ला ट्राफिक प्हरी कार्यालय उदयपुरका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक लोक बहादुर दियालीले तोकिएको भाडाभन्दा बढी भाडा लिने जो कोहीलाई पनि प्रमाणका आधारमा कार्वाही गर्ने बताए ।
बढी लिएको भाडा फिर्ता
आइतबार काठमाण्डौबाट बेल्टाकारलागि माइक्रोबसमा चढेका दुई यात्रुसँग आशियाना यातायात प्रालिको टिकट काउन्टर कोटेश्वरमा ४ हजार ५ सय भाडा लिएकोमा जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले बढी लिएको भाडा २ हजार फिर्ता गराएको छ ।
वैदेशिक रोजगारबाट आएका उदयपुरको चौदण्डीगढी नगरपालिका बेल्टारका विजय विश्वकर्मा र प्रवेश भट्टराईले शनिबार साँझ कोटेश्वर स्थित आशियाना यातायात प्रालिको काउण्टरबाट काठमाण्डौदेखि उदयपुरको बेल्टारसम्मकालागि दुईजनाले टिकट काटे । तर बा ३ ख ९७८८ नम्बरको माइक्रो बसले गाईघाटसम्म मात्र ल्याएर बेल्टार जान रुट परमिट नभएको भनेर विजय र प्रवेशलाई गाईघाट मै झारेको थियो । ती दुवैले बढी भाडा लिएको र गन्तव्यमा नपु¥याएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुर गाईघाटमा उजुरी दिएका थिए ।
विजय र प्रवेशले हामीले बेल्टारको टिकट काटेको हो बेल्टार पु¥याइदिनु भन्दा सो माइक्रो बसका चालक सन्तलाल माझीले मलाई काउन्टरको मान्छेले गाईघाटसम्म लैजानु भनेको र दुई जनाको भाडा २ हजार ४ सय मात्र दिएको छ । बेल्टारसम्म जान रुट परमिट छैन त्यसैले म लैजान सक्दिन भनेर जवाफ दिएको बताए ।
माइक्रो बस चालक माझीले हाम्रा समाचारदातालाई टिकट काउन्टरले गरेको बदमासीको प्रतिफल आफुले भोग्नु परेको बताउँदै आफुले पनि दुई यात्रुलाई कहाँ जाने भनेर नसोधेको र टिकट समेत मागेर नहेरेको जानकारी दिए ।
विजय र प्रवेशसँग काउन्टको टिकट काट्नेले गाडी भाडा वापत दुई जनाको २ हजार ५ सय र लगेज वापतको २ हजार गरी ४ हजार ५सय लिएको टिकट देखाएका छन् । टिकटमा यात्रुको नाममा हस्ताक्षर गरिएको छ भने यात्रुको गन्तव्यमा का मात्र लेखिएको छ । ठेगानामा बोहर लेखिएको छ भने लगेजमा ६ थान छ । वैदेशिक रोजगारबाट फर्केको कारण लगेमको भाडा लिनु नपर्नेमा २ हजार लिएर ठगि गरेको पाइएपछि माइक्रो चालकसँग बढी लिएको रकम २ हजार फिर्ता गराएपछि ट्राफिक प्रहरीले कब्जामा लिएको माइक्रो बस छाडेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक लोक बहादुर दियालीले बढी लिएको रकम फिर्ता गराएको बताए ।
Shares