याम्बालिङ्ग हाइड्रोपावरको IPO आजदेखि निष्काशन तथा बिक्री खुला
काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज -चैत ८ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ७ करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ७ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो । सो शेयर खरिदका लागि सिन्धुपाल्चोक जिल्लाका जुगल गाउँपालिका वडा नं. १, २, ३, ४, ५, ६ र ७ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने २ करोड १० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका २ लाख १० हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा ७ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा २१ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा चैत २२ गते हुनेछ भने ढिलोमा २०८३ बैशाख ७ गते हुनेछ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गते हुनेछ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
Shares