टाइम फर्मास्युटिकल्सले बुक बिल्डिङमार्फत IPO निष्काशन गर्ने
टाइम फर्मास्युटिकल्स लिमिटेडले बुक बिल्डिङ विधिमार्फत प्राथमिक शेयर (आईपीओ) निष्काशनको प्रक्रिया अघि बढाउँदै योग्य संस्थागत लगानीकर्ताका लागि ‘रोड शो’ कार्यक्रम सम्पन्न गरेको छ।
होटल याक एन्ड यतिमा आयोजित कार्यक्रममा करिब १४५ भन्दा बढी योग्य संस्थागत लगानीकर्ताका प्रतिनिधिको सहभागिता रहेको थियो। कार्यक्रममा लगानीकर्तालाई आशयपत्र (इच्छापत्र) फारमसमेत वितरण गरिएको कम्पनीले जनाएको छ।कम्पनीका अनुसार जारी पुँजी रु. ५३ करोड को २०.५ प्रतिशत बराबर १० लाख ८६ हजार ५०० कित्ता शेयर निष्कासन गरिनेछ। यसमध्ये ४० प्रतिशत (४ लाख ३४ हजार ६०० कित्ता) शेयर योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ भने बाँकी सर्वसाधारणका लागि जारी गरिनेछ।
कम्पनी सचिव अधिवक्ता सुदीप घिमिरेका अनुसार बुक बिल्डिङ निर्देशिका, २०७७ अनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) र टाइम फर्मास्युटिकल्सबीच यसअघि कार्य सञ्चालन सम्झौता भइसकेको छ। सोही प्रक्रियाअनुसार योग्य संस्थागत लगानीकर्ताले असार २२ देखि २६ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् भने असार २९ गते बोलपत्र खोलिनेछ।
कम्पनीले विभिन्न मूल्यांकन विधिका आधारमा प्रतिशेयर औसत मूल्य रु. ६६६.७८ निर्धारण गरेको छ भने योग्य संस्थागत लगानीकर्ताका लागि रु. ६०० आधार मूल्य प्रस्ताव गरिएको जनाएको छ।
कम्पनीका अध्यक्ष डा. जी. नारायण बहादुर क्षेत्रीले २९ वर्षअघि एक करोड रुपैयाँ पुँजी, २५ कर्मचारी र आठ प्रकारका औषधिबाट सुरु भएको कम्पनीले हाल ३५० भन्दा बढी कर्मचारीमार्फत २०० भन्दा बढी औषधि उत्पादन तथा बजारीकरण गरिरहेको जानकारी दिए। कम्पनीले नेपालमै पहिलो पटक क्लिनिकल ट्रायल पनि सुरु गरेको र त्यसको प्रतिवेदन छिट्टै सार्वजनिक हुने उनले बताए।
कम्पनीको वित्तीय विवरण, प्रारम्भिक विवरणपत्र तथा मूल्यांकन प्रतिवेदन कम्पनी र बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको वेबसाइटमार्फत हेर्न सकिने जनाइएको छ।
प्रतिक्रिया
Shares