प्रभु बैंकका सीईओ शर्मासहित चार जनाविरुद्ध फौजदारी मुद्दा

अर्थकागज
प्रकाशित: १४ असोज २०८३
Image description

काठमाडौं । प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मासहित चार जनाविरुद्ध ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दा दायर भएको छ ।

पर्सा जिल्ला अदालतमा दायर अभियोगपत्रमा शर्मासहित तत्कालीन सनराइज बैंकका नायब प्रबन्धक केदार सिंह, वरिष्ठ अधिकृत सुबोध जोशी र कर्जा प्रशासनमा कार्यरत नायब प्रबन्धक रवीन्द्र केसीलाई प्रतिवादी बनाइएको छ। शर्मा त्यसबेला सनराइज बैंकको सीईओका रूपमा कार्यरत थिए ।

सरकारी वकिलको कार्यालय पर्साले दायर गरेको अभियोगपत्रमा चारै जना हाल सम्पर्कमा नरहेको उल्लेख गर्दै अदालतबाट म्याद पुर्जी जारी गर्न माग गरिएको छ । पछिल्लो विवरणअनुसार उनीहरूविरुद्धको मुद्दा स्वीकृत कर्जा उपलब्ध नगराएको विषयसँग जोडिएको छ ।

वीरगन्जमा भवन निर्माण सामग्री तथा हार्डवेयरको कारोबार गर्दै आएको अञ्जली इन्टरनेसनलले व्यवसाय विस्तारका लागि बैंकबाट थप कर्जा माग गरेको थियो। बैंकको केन्द्रीय कार्यालयबाट २०८० वैशाख ५ गते अञ्जली इन्टरनेसनलका लागि ३ करोड ८९ लाख ९४ हजार रुपैयाँ थप कर्जा स्वीकृत भएको अभियोगपत्रमा उल्लेख छ ।

कर्जा सुरक्षणका लागि बाराको अमवास्थित जग्गा बैंकको पक्षमा धितोबन्धकसमेत गरिएको उल्लेख छ। तर स्वीकृत कर्जा प्राप्त नभएको भन्दै अञ्जली इन्टरनेसनलले कानुनी प्रक्रिया अघि बढाएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर