सिमेन्ट खानी नवीकरण गर्न करिब ७५ लाख ऋण सहयोग

अर्थकागज
प्रकाशित: ३१ असार २०८३
Image description

माधव पोखरेल

उदयपुर । उदयपुर सिमेन्ट उद्योग लिमिटेडलाई चुन ढुंगा खानी नविकरणको लागि नेपाल सरकार अर्थ मन्त्रालयले ७४ लाख ९७ हजार ३ सय ३१ रुपैया सरकारले ऋण उपलब्ध गराएको पत्र प्राप्त भएको छ । 

अर्थ मन्त्रालय सार्वजनिक ऋण व्यवस्थापन कार्यालय लगानी तथा जमानत शाखाले सो ऋण उपलब्ध गराएको हो । उद्योग पुनः सञ्चालन गर्न सरकारले दिएको भनिएको ऋणबारे फरक फरक पत्र सार्वजनिक भएपछि जिल्लाबासी अन्यौलमा परेका छन् । सार्वजनिक ऋण व्यवस्थापन महाशाखाले ऋण दिएको पत्रमा बजेट रकम अंक र अक्षरमा फरक पाइनुका साथै चलानी नं. पनि फरक भएको अर्को पत्र सार्वजनिक हुनुले जिल्लाबासी मात्र नभएर उद्योगकै कर्मचारी पनि अन्यौलमा परेका थिए । 

पत्रमा उल्लेखित रकमको अंकमा ७४,९७,३३१ र अक्षरमा चौरहत्तर करोड सन्तानब्बे लाख तीनसय एकतिस रुपैँया भनेर उल्लेख छ । कार्यालयका लेखा अधिकृत गुरुदत्त शर्मालाई प्रमाणित डिजिटल हस्ताक्षर गर्ने व्यक्ति उल्लेख भएको असार ३० गतेको मितिमा पत्र संख्या ०८२/८३, चलानी नं. १६३ को उक्त पत्रमा उक्त ऋण तमसुकमा आधिकारिक दस्तखत गर्ने पदाधिकारी र साक्षी बस्ने कर्मचारी अख्तियारनामासहित कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ । 

सो पत्रमा रकमको अंकमा ७४,९७,३३१ र अक्षरमा चौहत्तर करोड सन्तानब्बे लाख तीन सय एकतिस रुपैया उल्लेख छ । पुनः सोही व्यहोराको अर्को पत्रमा असार ३० गतेको मितिमा पत्र संख्या ०८२/८३, चलानी नं. १६४ मा रकमको अंकमा ७४,९७, ३३१ र अक्षरमा चौहत्तर लाख सन्तानब्बे हजार तीन सय एकतिस रुपैया रहेको पाईयो । यस विषयमा अर्थ मन्त्रालय सार्वजनिक ऋण व्यवस्थापन कार्यालय लगानी तथा जमानत शाखा त्रिपुरेश्वर काठमाडौंका राजश्व उपसचिव तथा सूचना अधिकारी मोहन सिंह बस्नेतका अनुसार यस शाखाले ७४ लाख ९७ हजार ३ सय ३१ रुपैयामात्र ऋण तमसुक लिखतमा हस्ताक्षरण गर्न र साक्षी बस्ने कर्मचारीको लागि पत्रचार गरिएको बताए । 

उनले यत्रो ठूलो रकम होइन चुन ढुंगा खानीको नविकरण वापत उद्योगसंग पैसा नभएपछि सो ऋण स्वीकृति भएकोले पत्रचार गरिएको बताए । उनका अनुसार ७४ लाख ९७ हजार नै हो तर पत्र फरक पर्न गएकोले पुनः सच्याएको पठाएको पत्र नै आधिकारिक भएको बताए । यस विषयमा उदयपुर सिमेन्ट उद्योगका प्रशासन महाशाखा प्रमुख गम्भीरजंग खत्रीले पत्रबारे आधिकारिकता जाँच्न उद्योगको कर्मचराी टोली सहित अर्थ मन्त्रालय सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा पुग्दा चुन ढुंगा खानी नविकरणको लागि ७४ लाख ९७ हजार ३ सय ३१ रुपैया ऋण दिने रहेछ । सो रकम एक पैसा पनि तलमाथि नभई सिधै सरकारको खातामा जम्मा हुने रहेछ खत्रीले बताए ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर