बजेट अभावले सगरमाथा विमानस्थल निर्माणमा सुस्तता
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १ र २ को जंगलमा निर्माण हुने भनिएको सगरमाथा विमान स्थलको काममा बजेट अभाव हुँदा निर्माण कार्यमा सुुस्तता देखिएको छ ।
गत जेष्ठ १५ गतेको बजेट वक्तव्यले सगरमाथा विमान स्थल लगायतका विमान स्थललाई बजेट छुट्याइएको भनिए पनि कति बजेट छुट्याइएको हो सो स्पष्ट भएको छैन ।
बिक्रम सम्बत २०३१ सालदेखि उदयपुरको गाईघाट स्थित हालको तरकारी बजार रहेको हवाई फिल्डमा विमानस्थल निर्माणकालागि १५ विघा जग्गा छुट्याइएको भए पनि
२०७४ सालदेखि निर्माण गरिने भनेर चर्चामा ल्याइएको सगरमाथा विमान स्थलको निर्माणमा उदयपुर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. नारायण खड्काले निर्वाचनका समयमा मात्र निर्माण गर्ने भनेर जनताका सामु भन्ने गरेको तर बजेटको अभावले काम नै अलपत्र परेको स्थानीयको भनाई रहेको छ ।
हालसम्म विमानस्थल निर्माणकालागि करीब १५६ हेक्टर जग्गाको व्यवस्था गरिएकोमा १०५ हेक्टरको रुख कटान भएर घाट गद्दी भएको छ भने रुखको जरा उखेल्ने र घेराबेरा गर्ने तयारी भैरहेको छ । विमान स्थलनिर्माण क्षेत्रमा रहेको खोल्सी सम्याउने काम गरेर विमानस्थलको धावन मार्ग बनाउने प्रारम्भिक कार्य केही दिनमा शुरु हुने नेपाल नागरिक उड्डयन प्राधिकरणको सगरमाथा विमानस्थल हेर्ने योजना श्रोतले जनाएको छ ।
श्रोतका अनुसार विमान स्थलको धावन मार्ग निर्माणकालागि टेण्डर निकाल्ने प्रक्रिया अघि बढेको छ । नेपाल सरकारको प्राथमिकतामा रहेको सगरमाथा विमानस्थललाई नेपाल नागरिक उड्डयन प्राधिकरणले श्रोत जुटाएर निर्माण कार्य अघि बढाउने तयारी भैरहेको जनाएको छ ।
सगरमाथा विमानस्थल निर्माण उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र बस्नेतका अनुसार पहिले गाईघाट स्थित हवाई फिल्डमा विमान स्थल बनाउने भनेर करीब १५ विघा सरकारी जग्गा अधिग्रहण गरिएको थियो । तरपछि त्यहाँ साँगुरो हुने भएकोले हाल त्रियुगा नग्पालिका ८ स्थित राजावास नजिकको उत्तराइन भन्ने ठाउँमा ४५ विघा व्यक्तिको नामको जग्गामा विमान स्थल निर्माण गर्ने भनेर जग्गा धनीबाट लालपुर्जा समेत संकलन गरी मुआब्जाकालागि तयारी भैरहेको थियो । सोही समयमा स्थानीय विकास मन्त्रालयले सरकारी जग्गा बिक्री गर्न नपाउने र व्यक्तिका नामको जग्गा मुआब्जा तिरेर लिन नसकिने व्यहोराको पत्र पठाएपछि त्रियुगा नगरपालिकाका तत्कालिन मेयर बलदेव चौधरीको पहलमा त्रियुगा नगरपालिकाको वडा नं १ को जोगीदह स्थित र २ मा पर्ने मोथियाही स्थित सामुदायिक वनको जग्गामा विमान स्थल बनाउन सहमती जुटेपछि प्रक्रिया अघि बढेको अध्यक्ष बस्नेतले बताए ।
अध्यक्ष बस्नेतले दिएको जानकारी अनुसार विमानस्थल निर्माणकालागि जोगीदह जंगलको विच भागमा खाली चौर पनि रहेको र वरपरको वनको करीब १३ हजार ६ सय ३७ रुख कटान गरिएको छ । जंगल विचको खाली भागमा पहिले करीब ५ सय घर टहरा बनाएर अतिक्रमण भएकोमा २०६१ सालमा राजाको शासनका समयमा तत्कालिन अंचल प्रशासक राम कुमार राईले हटाएका थिए । सोठाउँमा विमान स्थल निर्माणकालागि वन मन्त्रालय, वन विभाग तथा उदयपुरका नेताहरु समेतको संलग्नतामा काठमाण्डौमा बैठक बसेर विमान स्थल निर्माण गर्ने निर्णय भएको थियो ।
विमान स्थ्ल निर्माणको प्रारम्भमा काम शुरु गर्न बजेटको अभाव भएकोले त्रियुगा नगरपालिकाबाट १० लाख, चौदण्डीगढी नगरपालिकाबाट १० लाख र उदयपुरको १ ख का प्रदेशसभा सदस्य हिमाल कार्कीबाट प्राप्त २ लाख गरी जम्मा २२ लाख रकमबाट विमान सथ्ल निर्माण कार्य शुरु भएको सगरमाथा विमान स्थल निर्माण उपभोक्ता समितिका अध्यक्ष बस्नेतले बताए ।
Shares