लुम्बिनीमा पाँचतारे होटल 'लुम्बिनी म्यारियट रिसोर्ट एण्ड स्पा' सञ्चालन हुने, भविश्यमा IPO जारी गर्ने

अर्थकागज
प्रकाशित: २३ पुस २०८२
Image description

काठमाडौं । लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडले आफ्नो सेवाको स्तर उकास्दै लुम्बिनी म्यारियट रिसोर्ट एण्ड स्पा नामक पाँचतारे होटल सञ्चालन गर्ने घोषणा गरेको छ । यो म्यारियट इन्टरनेशनलको काठमाडौं बाहिरको पहिलो र एकमात्र उपस्थिति हुनेछ ।

रिसोर्टका अध्यक्ष दिपक पाण्डेय, प्रबन्ध सञ्चालक रोशन कुमार न्यौपाने लगायत उच्च पदाधिकारीहरू तथा म्यारियट इन्टरनेशनलका वरिष्ठ अधिकारीहरू नीरज गोभिल, किरण एन्डिकट, जुही रोयको उपस्थितिमा होटल व्यवस्थापन सम्झौता सम्पन्न भएको छ । नयाँ रिसोर्टमा आधुनिक जलप्रदर्शन, संगीतसहितका फाउन्टेन, मोटर बोटिङ, मिनी क्रुज, जल रेस्टुरेन्ट, जल स्पा र अन्य धेरै जलक्रियाकलाप उपलब्ध हुनेछन् ।

यसलाई नेपालको पहिलो सुनौलो हरित प्रमाणपत्रसहितको वेलनेस र ईको रिसोर्ट र अग्र्यानिक पाँचतारे वेलनेस लक्जरी रिसोर्ट बनाउने योजना छ । खेलकुद प्रवद्र्धनका लागि नेपालकै पहिलो मल्टि–स्पेशालिटी रिसोर्ट बनाइनेछ । सांस्कृतिक पर्यटनका लागि बुद्धा थीम पार्क, मिनी स्तुपा, मिनी बुद्धा संग्रहालय, ध्यान स्थल र सांस्कृतिक केन्द्रहरू पनि रहनेछन् ।

रिसोर्ट पूर्ण सञ्चालनमा आएपछि जल, ईको, वेलनेस, खेलकुद र सांस्कृतिक पर्यटनका लागि अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्ने विश्वास गरिएको छ । व्यवस्थापन प्रमुखको रूपमा विजयानमारन सनमुगम नियुक्त भइसकेका छन् ।

स्थानीय रोजगारी, उत्पादन र पर्यटन प्रवद्र्धन गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने उद्देश्यसहित रिसोर्टले प्राथमिक शेयरको तयारी पनि अघि बढाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर