सिडीएससीबाट प्रविण पन्दाकलाई फिर्ता बोलाउने नेप्सेको निर्णय
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले सिडिएस एण्ड क्लियरिङ लि.को सञ्चालकबाट प्रविन पन्दाकलाई फिर्ता बोलाउने निर्णय गरेको छ । नेप्से सञ्चालक समितिको शुक्रबार बसेको बैठकले पन्दाकलाई सिडिएससीको सञ्चालकबाट फिर्ता बोलाउने निर्णय गरेको हो ।
नेप्सेको कर्मचारीको हैसियतमा नेप्से सञ्चालक समितिले आफ्नो प्रतिनिधिका रुपमा पन्दाकलाई सिडिएससीमा सञ्चालकका रुपमा पठाएको थियो ।नेपाल स्टक एक्स्चेञ्जका अनुसार सिडिएससीमा आफ्नो लगानी भएको अवस्थामा प्रतिनिधिका रुपमा पन्दाकलाई पठाइएकोमा शुक्रबार बसेको सञ्चालक समितिको बैठकले फिर्ता बोलाउने निर्णय गरेको हो । नेप्सेका अनुसार शुक्रबार बिहान नेप्सेले पन्दाकलाई फिर्ता बोलाउने निर्णय गरेपनि पत्र भने पठाइएको छैन । शुक्रबार नै पत्र पठाउने नेप्सेले जनाएको छ ।
सिडिएससी सञ्चालक समितिमा नेप्सेकातर्फबाट चुडामणी चापागाई अध्यक्ष र प्रविन पन्दाकले सदस्यका रुपमा प्रतिनिधित्व गरेका छन् । अर्थ मन्त्रालयबाट अशोक गुरागाई र शरद निरौला सञ्चालक छन् भने स्वतन्त्र सञ्चालकमा सुमन कुमार नेपाल छन् ।
अब नेप्सेले पन्दाकको ठाउँमा अर्को व्यक्तिलाई सिडिएससीको सञ्चालकका रुपमा पठाउने छ ।
गत वर्षदेखि पन्दाकले सिडिएससीको प्रबन्ध सञ्चालकको जिम्मेवारी समेत सम्हाल्दै आएकी छिन् । तत्कालीन नेप्सेका प्रमुख कार्यकारी एवं सिडिएससीका अध्यक्ष कृष्णबहादुर कार्कीको सिफारिसमा तत्कालीन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पन्दाकलाई सिडिएससीको प्रबन्ध सञ्चालकको समेत जिम्मेवारी दिएका थिए ।
Shares