बूढानीलकण्ठबाट २१ किलोभन्दा बढी सुन बरामद भएको विषयमा प्रहरीले के भन्यो ?

अर्थकागज
प्रकाशित: २२ असोज २०८३
Image description

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठस्थित भंगालमा घर भाडामा लिएर अवैध सुनको कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट २१ किलो ७५०.६११ ग्राम सुन बरामद गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार भंगालस्थित एक घरमा छापा मारेर हान फेई, झोउ लङछिङ र सु क्यानलाई पक्राउ गरेको हो । बरामद सुनको मूल्य बिहीबारको बजार भाउअनुसार ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी अनुसन्धानका क्रममा चीनको ग्वान्झाउमा बस्ने जेन्जिया ल नामका व्यक्तिले वीच्याटमार्फत नेपालमा सुन कहाँ पुर्‍याउने र कसलाई दिने भन्ने निर्देशन दिने गरेको खुलाएको छ ।

अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार पक्राउ परेका चिनियाँ नागरिकहरूले भंगालस्थित घर भाडामा लिएर सुनको अवैध कारोबारसँगै प्रशोधन र तयारी गर्ने गरेका थिए । उनीहरूले उक्त घरको मासिक ३ लाख ३० हजार रुपैयाँ भाडा तिर्ने गरी चार महिनाको १३ लाख २० हजार रुपैयाँ अग्रिम भुक्तानी गरेको पनि अनुसन्धानबाट खुलेको छ ।

विभिन्न बिस्कुट आकारमा रहेको सुनको तौल परीक्षण गर्दा २१ किलो ७५०.६११ ग्राम रहेको पाइएको प्रहरीले जनाएको छ । सुनसँगै प्रहरीले नगद, सुन ओसारपसारमा प्रयोग गरिने गाडी र सुन प्रशोधनमा प्रयोग हुने सामग्रीसमेत बरामद गरेको छ ।

गोप्य सूचनाका आधारमा लामो समयदेखि निगरानी गरिरहेको प्रहरीले बिहीबार घरमा छापा मारेको जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिको भूमिकाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रियाहरू

सम्बन्धित खबर