खानी खोला हाइड्रोपावरको १०० प्रतिशत हकप्रदमा आजदेखि आवेदन दिन पाईने

अर्थकागज
प्रकाशित: ०२ भदौ २०८२
Image description

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड (KKHC) ले आज (भदौ ३ गते)देखि १०० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले विद्यमान एक कित्ता बराबर एक कित्ता अनुपातमा हकप्रद शेयर जारी गर्दैछ।

यस अन्तर्गत कम्पनीले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ, जसको कुल रकम ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ हुनेछ।

यसका लागि कम्पनीले असार २७ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार असार २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति भदौ २३ गते तोकिएको छ।

हकप्रद निष्काशनका लागि इक्रा नेपालले कम्पनीलाई “इक्राएनपी सिंगल बी इश्युअर रेटिङ” प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा उच्च जोखिम रहेको सङ्केत गर्दछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले लिएको छ। लगानीकर्ताले बिक्री प्रबन्धक, कुमारी बैंक र सिटिजन्स बैंक इन्टरनेशनलका विभिन्न शाखा कार्यालयहरूमार्फत आवेदन दिन सक्नेछन्। साथै, आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था वा “मेरो शेयर” सफ्टवेयर प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

वर्तमानमा कम्पनीको चुक्ता पूँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशनपछि चुक्ता पूँजी बढेर ९३ करोड १४ लाख २८ हजार ६०० रुपैयाँ पुग्नेछ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर