आजदेखि संसद् सुचारु हुने, सहकारीको बचत अपचलन छानबिन गर्न संसदिय समिति गठन गरिने

अर्थकागज
प्रकाशित: ०५ जेठ २०८१
Image description

सत्ता साझेदार तीन दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबिच सहकारीमा भएको आर्थिक अपचलनका सन्दर्भमा संसदीय छानबिन समिति गठन गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सम्पन्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी ९एमाले०, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताको संयुक्त बैठकमा सहकारी प्रकरणमा छानबिन समिति गठन गर्ने समझदारी भएको हो ।

यससँगै कांग्रेसले सहकारी ठगी प्रकरणलाई लिएर अवरुद्ध गरिरहेको संसद् आइतबारदेखि सुचारु हुने भएको छ । बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने, “संसदीय छानबिन समिति बनाउने सहमति भयो । समितिको कार्यादेश कस्तो हुने भन्ने विषयमा साथीहरूले काम गर्ने र चारै दलका प्रतिनिधि बसेर कार्यादेशमा काम गर्ने समझदारी भएको छ ।”

उनका अनुसार सरकारले कार्यादेश बनाउन सहजीकरण गर्ने र संयोजन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले गर्नेछन् । उनले समिति बनाएर जाने विषयमा चारै दल सकारात्मक भएपछि कार्यादेश बनाउन कार्यदल बनाइएको बताए ।

नेता लेखकले भने, “सँगसँगै समितिको कार्यादेश के हुने भन्ने कुरामा पनि काम सुरु हुन्छ र समिति गठन गरेर जाने भन्ने कुरामा चारै राजनीतिक दलबिच समान धारणा बनेको छ । आजको बैठक उपलब्धिमूलक र सकारात्मक नै मान्नु पर्छ ।” 

प्रतिक्रियाहरू

सम्बन्धित खबर