आजदेखि सानिगाड हाइड्रोको IPO बिक्री खुला

अर्थकागज
प्रकाशित: १७ जेठ २०८३
Image description

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले आज (जेठ १८ गते) सोमबारदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा कम्पनीले २८ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ५ लाख ७० हजार कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै, कम्पनीले १ लाख ७१ हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र २ लाख ८५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिसकेको छ।

अब भने कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि बाँकी रहेको ४६ करोड ७४ लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ ४६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गरेको हो ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा जेठ २१ गते हुनेछ भने ढिलोमा असार १ गते हुनेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर