एनसेलको ‘ब्रान्ड’ दुरुपयोग गरेर स्क्याम, भ्रामक सूचनाको विश्वास नगर्न कम्पनीको अपिल

अर्थकागज
प्रकाशित: २१ असोज २०८३
Image description

काठमाडौं । डिजिटल दुनियाँमा जति प्रविधिको विकास र प्रयोग बढ्दै जान्छ, त्यति नै जोखिम पनि बढिरहेको हुन्छ । चाहे त्यो सामान्य समाजिक सञ्जाल प्रयोगका विषयमा होस् यात ठूला ठूला बैंकिड कारोबार वा डिजिटल ट्रान्जेक्सनमै होस् । जोखिम उति नै रहन्छ । 

यद्यपि, डिजिटल प्रयोगमा हुने डिजिटल हमला (स्क्र्याम) बाट जोगिन वा सुरक्षित रहन भने हामी प्रयोगकर्ता नै सचेत र जिम्मेवार हुनैपर्छ । 

यस्तैमा पछिल्लो समय प्रतिष्ठित बहुराष्ट्रिय दूरसञ्चार कम्पनी एनसेलको नाम र लोगो प्रयोग गरेर डिजिटल रुपमा ठगी (स्क्र्याम)का गतिविधि बढेको छ । 

एनसेल आजियाटाको नाम र लोगो दुरुपयोग गर्दै कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसरमा नगद रकम जित्ने मौका दिइरहेको भन्दै विभिन्न फेसबुक पेज र लिंकहरुमार्फत प्रयोगकर्तालाई प्रलोभनमा पार्दै स्क्यामरहरुले भ्रामक पोस्ट, स्क्रिनसट, कमेन्ट तथा सन्देशहरु प्रचार प्रसार गरिरहेका छन् । 

यस्ता स्क्यामरहरूले प्रयोगकर्ताहरूलाई व्यक्तिगत विवरण भर्न वा ओटीपी (वान टाइम पीन) नम्बर दिन बाध्य पारिरहेका छन् । यस खालका स्क्याममा सोझा मात्र होइनन् बुझेका र जान्ने भनेका व्यक्तिहरू समेत फस्ने गरेका छन् । जो कोही पनि स्क्याममा पर्ने जोखिममा रहन्छ ।

व्यक्तिगत विवरण नदिन कम्पनीको अपिल

कुनै जानकारी र आधिकारिकता विनै आफ्नो नाम र लोगो (ब्रान्ड) को दुरुपयोग भइरहेको बारे एनसेलले गम्भीर आपत्ति जनाएको छ । यस्ता खाले कुनै पनि उपहार तथा चिट्ठा कार्यक्रममा कम्पनी संलग्न नरहेको प्रष्ट पार्दै एनसेलले कोही कसैलाई पनि हल्लाको पछि नलाग्न र स्क्यामरहरूको विश्वास नगर्न अपिल गरेको छ । 

कम्पनीले भनेको छ, ‘एनसेल आजियाटा लिमिटेडको नाम र लोगो दुरुपयोग गर्दै कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसरमा नगद रकम जित्ने मौका दिईरहेको भन्दै विभिन्न फेसबुक पेज र लिंकहरुमार्फत प्रयोगकर्तालाई प्रलोभनमा पार्दै स्क्यामरहरुले भ्रामक पोस्ट,स्क्रिनसट, कमेन्ट तथा सन्देशहरु प्रचार प्रसार गरिरहेको जानकारीमा आएकोले सजग रहन र त्यस्ता प्रचारसँग सम्बन्धित पेज वा लिंकमा क्लिक गरी आफ्ना व्यक्तिगत विवरण नदिन हुन अनुरोध गर्दछौं ।’

कम्पनीले थप भनेको छ, ‘यस प्रकारका अनाधिकृत रुपमा सञ्चालित पेज, लिंक वा वेबसाइटका कुटा प्रचारमा विश्वास गर्दा आफ्नो व्यक्तिगत विवरण चोरी हुने, अकाउन्ट हयाक हुने जस्ता जोखिम रहन्छन् । यस कम्पनीले त्यस्तो कुनै योजना सञ्चालन नगरेको स्पष्ट पार्न चाहन्छौं र आधिकारिक रुपमा उपलब्ध गराएको सूचना वा कम्पनीको आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल पेजमा उपलब्ध जानकारीलाई मात्र विश्वास गर्नहुन अनुरोध गर्दछौं ।’

स्क्यामबाट कसरी बच्ने ?

ओटीपी, पीन, पासवर्ड र सीभीभी गोप्पे राख्ने, जो पायो त्यहीले माग्दा कसैलाई पनि नदिने ।

अपरिचित लिंक वा विज्ञापनमा क्लिक नगर्ने । अत्याधिक आकर्षक अफर वा प्रलोभनमा संका गर्ने र पछि नलाग्ने ।

जहाँ पायो त्यही उपलब्ध क्यूआर कोर्ड स्क्यान नगर्ने । यसो गर्दा बैंक खातामा भएको पैसा तुरुन्त स्क्यामरको खातामा ट्रान्सफर हुन सक्छ । 

प्राप्त वेवसाइट वा सूचना स्रोतलाई राम्रोसँग पहिचान गर्ने, नक्कली वेबसाइटहरू खोल्दै नखोल्ने । आफ्नो बैंक खाता, वालेट तथा अन्य व्यक्तिगत विवरण सुरक्षित राख्ने । र

यदि आफू स्क्याममा परिसकेको वा ठगिइसकेको छ भने तुरुन्त आधिकारिक निकाय बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्ने र सुरक्षा निकायलाई जानकारी गराउने गर्नुपर्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर