सुटुक्क सार्वजनिक सुनुवाई गरेपछि सर्वत्र विरोध !

अर्थकागज
प्रकाशित: २८ मंसिर २०८०
Image description

उदयपुर । त्रियुगा नगरपालिकाले आफ्नो चौमासिक रुपमा गर्ने सार्वजनिक सुनुवाई कार्यक्रम संचारकर्मी तथा अन्य सरोकारवालाहरुलाई जानकारी नदिई सुटुक्क गरेपछि अहिले सर्वत्र विरोध भैरहेको छ ।

बुधबार त्रियुगा नगरपालिकाले गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाले आफ्ना कर्मचारी तथा पालिका सदस्यहरु र वडा अध्यक्षहरुलाई मात्र सहभागी गराएर अन्य सरोकार बालाहरुलाई बेवास्ता गरेपछि यसको बिरोध गरिएको बताइएकोछ ।

बुधबारको सार्वजनिक कार्यक्रममा हरि बहादुर बुथाथोकीले गोप्य रुपले सूचना पठाएर सिमीत व्यक्तिहरुलाई मात्र खबर गरेर कार्यक्रम गरेको भन्दै फेसबुकमा स्टाटस हालेपछि यस बारेमा सर्वत्र विरोध भएको छ ।

यस विषयमा वडा नं १० का वडाध्यक्ष किरण पाण्डेसँग जिज्ञासा राख्दा नगरपालिकाको कर्मचारीको फट्याईँले गर्दा विरोध भएको जानकारी दिंदै प्रत्येक वडामा सार्वजनिक सुनुवाईको जानकारी पठाउनु पर्ने र माइक लगाएर बजारमा प्रचार प्रसार गर्नुपर्नेमा सो नगरेकोले विरोध भएको जानकारी दिंदै आफूले वडामा सार्वजनिक सुनुवाई गद गर्दा सरोकारवाला सबैलाई माइकिङ गराएर जानकारी दिने बताए ।

 यस विषयमा सामाजिक शाखाका प्रमख राजकुमार खड्कासँग जिज्ञासा राख्दा सबैजनालाई खबर नगरेको स्वीकार गर्दै प्रतिनिधि मुलक रुपमामात्र सूचना गरिएको र प्रत्येक नागरिकलाई सूचना गरेर साध्य नहुने बताए ।

त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले पनि संस्थागत रुपमा प्रतिनिधित्व हुने गरी निमन्त्रण गरिएको जानकारी दिंदै केही उद्दण्ड स्वभावका मानिसले विरोध गरेकोमा त्यसको जवाफ दिंदै आफूले कुरा राखेपछि उनीहरु बाहिर गएर विरोध गरी फेसबुकमा स्टाटस लेखेको बताउनु भयो ।

नगरपालिकाले कार्यक्रम गर्दा संचारकर्मीहरु मध्ये केहीलाई मात्र खबर गर्ने गरेको र राष्ट्रिय दैनिक पत्रिका, अनलाईन टेलिभिजनका पत्रकारलाई मतलव नराख्ने गरेको चर्चा पनि यो सार्वजनिक सुनुवाईको विवादसँगै चुलिएको छ । नगरपालिकाले आफ्नो अनुकुल समाचार लेख्ने पत्रकारलाई मात्र बोलाउने र नगरपालिकाबाट प्रकाशन गर्ने सूचनाहरु पनि समर्थक पत्रकारहरुलाई मात्र उपलब्ध गराउने गरेको पत्रकारहरु बिचमा निकै चर्चाको विषय बन्ने गरेको छ ।

मेयर बस्नेत र सामाजिक शाखाका प्रमुख खड्कालाई यस विषयमा नेपाल समाचार पत्रका उदयपुर प्रतिनिधि माधव पोखरेलले जिज्ञासा राख्दा पत्रकारहरुको सूचि दुरुस्त नभएकोले आउँदा दिनमा विवरण संकलन गरी खवर गर्ने र वेबसाइटमा राखेर खवर गर्ने बताएका छन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर