धितोपत्र बोर्डलाई क्षतिपूर्तिकोष तत्काल स्थापना र सञ्चालन गर्न टप स्टक ट्रेडरको आग्रह

अर्थकागज
प्रकाशित: २६ कात्तिक २०८२
Image description

काठमाडौँ ।नेपालको पूँजीबजारमा लगानीकर्ताको सुरक्षासम्बन्धी विषय पुनः चर्चामा आएको छ। यसबीच, सेयर विश्लेषक टप स्टक ट्रेडरले धितोपत्र बोर्डलाई क्षतिपूर्तिकोष तत्काल स्थापना र सञ्चालन गर्न जोडदार ध्यानाकर्षण गराएको छ।

समूहमा एक लगानीकर्ताले प्रश्न गरेका थिए- “आन्दोलन गरेर बजार बढ्ने हो र? धितोपत्र बोर्डले बढाउने हो र?” त्यसको जवाफमा टप स्टक ट्रेडरले भनेका छन्, “धितोपत्र बोर्डसँग बजारको कायापलट गर्न पर्याप्त अधिकार छन्, तर जिम्मेवारीअनुसारका कार्य अझै अधुरो छन्।”

धितोपत्र सम्बन्धी ऐन, २०६३ ले बोर्डलाई पूँजीबजार सुधारका विस्तृत अधिकार दिएको छ। ऐनको दफा ५३ अनुसार, “सेयर बजारमा लगानीकर्तालाई हुन सक्ने सम्भावित क्षतिबाट जोगाउन धितोपत्र बोर्डले क्षतिपूर्तिकोष स्थापना र सञ्चालन गर्नुपर्ने” प्रष्ट व्यवस्था छ।

तर ऐन बनेको करिब २० वर्ष बित्दा पनि उक्त कोष स्थापना हुन नसकेको सेयर विश्लेसक टप स्टक ट्रेडरको गुनासो छ। उनका अनुसार, ३ वर्षअघि २०७९ सालमा बोर्डले कोषको नियमावली बनाउने नीति ल्याएको भए पनि आजसम्म न नियमावली आएको छ, न कोष नै स्थापना भएको।

टप स्टक ट्रेडरले भनेका छन्, “यदि क्षतिपूर्तिकोष स्थापना भएको भए, हालै कर्णाली डेभलपमेन्ट बैंकको कारोबार बन्द हुँदा लगानीकर्ताको करोडौं रुपैयाँ फस्ने अवस्था आउँदैनथ्यो। कारोबार नखुलुन्जेल लगानीकर्ताले धरौटी वा क्षतिपूर्तिको सुविधा पाउने थिए। यसले अन्य कम्पनीहरूको कारोबारमा हुने जोखिम घट्थ्यो र लगानीकर्ताको मनोबल समेत बलियो बनाउँथ्यो।”

“धितोपत्र बोर्ड अध्यक्षज्यूलाई यसै वर्षभित्र क्षतिपूर्तिकोषसम्बन्धी नियमावली तयार पारेर कोष स्थापना र सञ्चालनको प्रक्रिया सुरु गर्न हार्दिक अनुरोध गर्दछौं। यस कार्यले लगानीकर्ताको सुरक्षामा नयाँ विश्वास जगाउनेछ र बोर्डमाथिको भरोसा अझै मजबुत हुनेछ,” उनले अनुरोध गरेका छन्।

नेपालको पूँजीबजार सुदृढ र विश्वासिलो बनाउन क्षतिपूर्तिकोषको स्थापना अब ढिलाइ गर्न नहुने काम हो।नेपालको पुजीँबजार विकास,सुधार र उत्थानका लागि सुझाव, सल्लाह र ध्यानाकर्षण गर्ने एक सामाजिक सन्जालको प्लेटफर्म टप स्टक ट्रेडर भएको समेत बताएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित खबर