मुक्तिनाथ कृषि कम्पनी आईपीओ आजदेखि बिक्री खुला
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आज अर्थात मंसिर ८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने अनुमति पाएको छ । जसमध्ये, पहिलो चरणमा १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँ बराबरको १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँटसमेत भइसकेको छ । अब दोस्रो चरणमा कम्पनीले ४२ हजार कित्ता सेयर कर्मचारीहरु र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारणलाई निष्कासनमा ल्याएको हो । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कहाँबाट आवेदन दिने ?
लगानीकर्ताले मंसिर १२ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा सबै सेयर बिक्री नभएमा मंसिर २२ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यो आइपीओमा एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।
Shares