भुजुङ्ग हाइड्रोपावरको आईपीओ पुस ३ देखि खुल्ने

अर्थकागज
प्रकाशित: २३ मंसिर २०८२
Image description

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले पुस ३ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर निष्काशन प्रक्रियाबाट सार्वजनिक चुक्ता पूँजी जुटाउन लागेको हो।


कम्पनीले १ अर्ब रुपैयाँ चुक्ता पूँजीमध्ये २० प्रतिशत अर्थात् २० लाख कित्ता शेयर बिक्री गर्ने अनुमति पाएको छ। सो अनुसार प्रभावित क्षेत्रका बासिन्दाका लागि कुल १० लाख कित्ता साधारण शेयर निष्काशन हुनेछन्। प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ रहने छ।


आयोजना क्षेत्रका लागि छुट्ट्याइएका शेयरमध्ये ६० प्रतिशत प्रत्यक्ष प्रभावित क्षेत्र—लमजुङ्गको क्व्होलासोथार गाउँपालिका–४ का बासिन्दालाई तोकिएको छ भने बाँकी ४० प्रतिशत सोही गाउँपालिकाका अन्य वडाका (१, २, ३, ५, ६, ७, ८ र ९) अप्रत्यक्ष प्रभावित बासिन्दाका लागि उपलब्ध हुनेछ।


यससँगै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि सर्वसाधारण वर्गमा छुट्याइएको भागबाट १० प्रतिशत अर्थात् १ लाख कित्ता शेयर निष्काशन गरिने कम्पनीले जनाएको छ।


आवेदनका लागि न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता तोकिएको छ। प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन अवधि छिटोमा पुस १७ र ढिलोमा माघ २ सम्म रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने पुस ७ गतेसम्म छिटो र पुस १७ गतेसम्म ढिलोसम्म आवेदन दिन सक्नेछन्।


इक्रा नेपालले भुजुङ्ग हाइड्रोपावरलाई ‘इक्राएनपी इश्युअर रेटिङ्ग सिंगल बी प्लस’ प्रदान गरेको छ, जसले दायित्व निष्पादन क्षमतामा तुलनात्मक रूपमा उच्च जोखिम रहेको संकेत गर्छ।


कम्पनीद्वारा सञ्चालित ७.५ मेगावाटको माथिल्लो मिदिम जलविद्युत आयोजना १ अर्ब ८० करोड ५८ लाख रुपैयाँ लागतमा निर्माण भएको हो। प्रतिमेगावाट लागत २४ करोड ९० लाख रुपैयाँ रहेको छ। आयोजना सञ्चालन अनुमतिपत्र ३० वर्षका लागि बाँकी छ भने गैर–डिस्काउन्टेड लगानी फिर्ता अवधि ९.६५ वर्ष र डिस्काउन्टेड अवधि १६.०९ वर्ष रहेको कम्पनीले जनाएको छ। यस आयोजनाबाट २०८१ बैशाख ६ गतेदेखि विद्युत उत्पादन भइरहेको छ।


कुमारी क्यापिटल लिमिटेड आईपीओ बिक्री प्रबन्धक रहेको छ। स्थानीय बासिन्दाले क्व्होलासोथार गाउँपालिका–४ कार्यालय, गाउँपालिका कार्यालय, कुमारी बैंक, सानिमा बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंकको बेसिशहर शाखा तथा भुजुङ्ग हाइड्रोपावरको सामाखुशीस्थित कार्यालयबाट आवेदन दिन सक्नेछन्। आवेदन फारामको शुल्क २ रुपैयाँ तोकिएको छ।


विदेशमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृत सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन पाउनेछन्।

प्रतिक्रियाहरू

सम्बन्धित खबर