कुमारी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा १०% छुट
काठमाडौं । कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पताल प्रालि, ग्वार्को–ललितपुरबीच बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले बी एण्ड बी अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। छुट सुविधा अन्तर्गत इनपेशेन्ट (भर्ना उपचार), आउटपेशेन्ट (बहिरंग सेवा), आकस्मिक सेवा तथा औषधि खरिदसमेत समावेश छन्।
बैंकका अनुसार उक्त सहकार्यले ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवामा थप सहज र किफायती पहुँच उपलब्ध गराउने अपेक्षा गरिएको छ।
विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर फैलिएको आफ्नो सेवा सञ्जालमार्फत ग्राहकलाई सुरक्षित, भरपर्दो तथा उच्चस्तरीय सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। हाल बैंकका २८६ शाखा, ३०४ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइ सञ्चालनमा रहेका छन्।
ग्राहकको स्वास्थ्य सुरक्षालाई संस्थागत जिम्मेवारीका रूपमा लिँदै बैंकले स्वदेश तथा विदेशका प्रतिष्ठित अस्पतालहरूसँग विभिन्न सहुलियतसम्बन्धी सम्झौता गर्दै आएको छ। यस्ता सहकार्यले ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज र प्रभावकारी पहुँच सुनिश्चित गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।
बदलिँदो समय र ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले आगामी दिनमा सेवा तथा सुविधाको दायरा अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।
Shares