आज विश्वासको मत लिँदै प्रधानमन्त्री ‘प्रचण्ड’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा बुधबार विश्वासको मत लिँदै छन् । २०७९ सालको निर्वाचनपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो । सत्ता गठबन्धन फेरबदलका कारण प्रधानमन्त्रीले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।
विश्वासको मत लिनेबारे प्रधानमन्त्रीले संसद् सचिवालयमा यसअघि नै लिखित पत्र पठाइसकेका छन् । सरकारमा सहभागी नेपाली कांग्रेसले समर्थन फिर्ताको निर्णय गरेपछि संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।
कांग्रेससँगको गठबन्धन तोडेर एमालेलगायत पाँच दलको समर्थनमा प्रधानमन्त्री निरन्तर भएका प्रचण्डले बुधबार तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीलाई एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) को समर्थन रहेको छ । प्रतिनिधि सभाको विश्वासका लागि प्रधानमन्त्रीलाई १३८ मत आवश्यक पर्छ ।
प्रधानमन्त्रीलाई समर्थन गर्ने दलमध्ये एमालेको ७६, रास्वपा २१, जसपा १२ र एकीकृत समाजवादीको १० सांसदलाई मताधिकार छ ।
Shares