जावलाखेलमा असोज १० गतेदेखि जुत्ता चप्पल मेला हुँदै, ५० प्रतिशतसम्म छुट पाइने
काठमाडौं । ललितपुरको जावलाखेलमा असोज १० गतेदेखि ‘ललितपुर वडादशैं जुत्ता चप्पल मेला २०८०’ को आयोजना हुने भएको । नेपाली जुत्ता चप्पल उत्पादक समुहले आइतबार पत्रकार सम्मेलन गर्दै दशैं लक्षित जुत्ता चप्पल मेलाको आयोजना गर्न लागिएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै समुहका अध्यक्ष नानीराज घिमिरेले ‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नारासहित जावलाखेलको खेल मैदानमा उक्त मेलाको आयोजना गर्न लागिएको जानकारी दिए । यसका साथै उनले नेपालमा जुत्ता चप्पलहरु उत्पादन गर्ने १५ सय उद्योगहरु रहेको बताए । उनका अनुसार उक्त उद्योगको उत्पादन क्षमता १६ करोड जोड रहेको छ भने लगानी ३० अर्ब रुपैयाँ रहेको छ ।
कोरोना महामारीसँगै, रुस युक्रेन युद्ध, बजारमा देखिएको तरलता अभाव र बढ्दो ब्याजदरका कारण उत्पादन लागत बढेको बताउँदै उनले निजी क्षेत्रको उत्पादन क्षमता घटेर ६ करोड जोरमा झरेको समेत उनले बताए ।
मुल्यवृद्धिका कारण निर्यातमा असर परेको उनले बताए । ‘आत्मनिर्भर अर्थतन्त्रमा कुनै पनि सोच र अवधारणा निर्माण हुन सकेको छैन । राज्यले उत्पादन क्षेत्रमा अझै जोड दिन सकेको छैन’, उनले भने, ‘हामीसँग काम गर्ने संस्कारमा कमी छ । यसले गर्दा पनि उत्पादलन लागत बढेको छ । त्यतिमात्र नभएर नाकामा हुने चोरी पैठारीका कारण पनि लागत बढेको छ ।’
असोज १० गतेदेखि कात्तिक ३ गतेसम्म हुने उक्त मेलामा नयाँ नयाँ डिजायनका जुत्ता चप्पल आकर्षक मुल्यमा उपलब्ध हुने मेलाका संयोजक होमनाथ उपाध्यायले जानकारी दिए ।
स्वदेशमा उत्पादन हुने जुत्ता चप्पल र स्वदेशी ब्राण्डलाई आम उपभोक्ताको बीचमा परिचित गराउने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको उनले बताए । उक्त मेला ९ बजेदेखि बेलुकी ७ बजेसम्म खुला रहने आयोजकले जनाएको छ ।
मेलामा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्राण्डहरु रोयल इन्डष्ट्रिजको रोयल शुज, वेश फुटवेयरको उत्पादन वि एफ डियर हिल र वि एफ स्पोर्ट, लालिगुरास फुटवेयरको क्रस रोल्ड शुज, शुभकामना फुटवेयरको फस्टवाम शुज, नमस्ते फुटवेयरको सिल आरडी कलेक्सनको हाइ लाइफ, केटिएम शुजको केटिएम डिजे, शुज कम्पनीको डिजे शुज, फूड फेसनको वेली शुज, सर अनिल ट्रेड लिंक्सको उत्सव र कोसेली छाला जुत्ता उद्योगको कोसेली शुज गरी ११ कम्पनी र ब्राण्डहरुको सहभागीता रहनेछ ।
मेलामा ३ हजार देखि ५ हजार भन्दाबढी मोडल र डिजाइनका जुत्ताहरु उपलब्ध हुनेछन् । यसका साथै मेलामा नेपाली र गुणस्तरीय उत्पादन रहने आयोजकले जनाएको छ । उक्त मेलामा नयाँ उत्पादनहरु पनि लञ्च गर्न लागिएको मेलाका संयोजक उपाध्यायले जानकारी दिए । सो मेलामा न्युनतम २० प्रतिशत देखि कतिपय उत्पादनहरुमा ५० प्रतिशत सम्म छुटको व्यवस्था रहेको छ भने मेला अवधिभर विशेष छुटको व्यवस्था गरिने आयोजक टिमले जनाएको छ ।
मेलाका संयोजक उपाध्यायका अनुसार मेलामा १५० वटा स्टलहरु रहनेछन् । मेला अवधिभरमा ३ लाख अवलोकन कर्तालाई अवलोक गराउने लक्ष्य राखिएको आयोजकले जनाएको छ भने मेलामा प्रवेश निशुल्क गरिएको छ ।
Shares