नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश तथा हकप्रदप्रयोजनार्थ भोलि चैत ७ गते बुक क्लोज गर्दैछ । आजसम्म कायम रहने शेयरधनीले कम्पनीको प्रस्तावित लाभांश पाउन तथा साधारणसभामा सहभागी हुन पाउनेछन् । साधारणसभा चैत १९ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।
सभाले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश वितरण विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, चुक्ता पुँजीको ४० प्रतिशत (पछि पुनरवलोकनसमेत हुन सक्ने) हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । साथै, बोनस शेयर जारीपश्चात् कम्पनीको जारी तथा चुक्ता पुँजी बढ्ने भएकाले सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् ।
त्यसैगरी सभाले गत आवका वार्षिक प्रतिवेदनसहित सबै वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्च स्वीकृत गर्नेछ ।
Shares